एमसीसीको पक्षमा मत हाल्ने सांसदलाई कारवाही गर्ने क्रान्तिकारी माओवादीको चेतावनी





र्ईश्वरीप्रसाद गैरे –
दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माआवादी) दाङको आयोजनामा शनिबार दाङको घोराही स्थित ट्राफिक चोकमा एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा गरिएको छ ।

लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले एमसीसी परियोजना नेपाली जनताको आवश्यकता भन्दा पनि अमेरिकी साम्राज्यवादको चाहना अनुसार ल्याइएकोले राष्ट्रघाती सम्झौता एमसीसी कुनै पनि हालतमा खारेज हुनु पर्नेमा जोड दिए । उनले एमसीसीको विरुद्ध जस्तो सुकै आन्दोलनमा उत्रिन तयार रहेको र सम्पूर्ण जनताले यसको सशक्त आन्दोलनमा उत्रने दावी गरे ।




उनले एमसीसीका उपाध्यक्ष फातिमा सुनाम रित्तै हात फर्केको नभई एमसीसी पास गर्न केही नयाँ दलालहरु समेत नियुक्ति गरेर फर्केको दावी गरे । उनले यस्ता दलालहरुलाई जनताको अगाडि नङग्याउने चेतावनी दिए ।

क्रान्तिकारी युवा लिग नेपालका महासचिव दिल बहादुर कठायतले एमसीसी राष्ट्रिय हित विपरित रहेको र राष्ट्रियता विपरित भएकोले यो सरकारले तत्काल खारेजी गर्नुपर्नेमा जोड दिंदै नेपाली जनताको राष्ट्रभक्ति आन्दोलनलाई वेवास्ता गरिए सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।

उनले दाङबाट निर्वाचित सांसदहरुलाई एमसीसीको विपक्षमा मत हाल्न आग्रह गर्दै एमसीसीको पक्षमा मत हाल्ने सांसदलाई जिल्लामा कारवाही गरिने चेतावनी दिए ।

कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी प्रदेश सदस्य तिलक बिकले गरेका थिए ।

 




सम्बन्धित
Loading...