देउवा सराकरले भन्सार छुट दिने गरी अर्बौंको चलखेल गर्‍योः ओली





एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको आरोप लगाएका छन् ।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवा सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका हुन् ।

 




आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको बताए ।

उनले भने, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ? मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन ।’

 

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे ।

चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए ।

आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न ओलीले निर्देशन दिएका छन् ।

नेता नेपाललाई पुनः एमालेमै फर्किन मुख्यमन्त्री शाक्यको आग्रह

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन् ।

 

महोत्तरीको बर्दिबासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री बनेको बताएकी हुन् ।

 

एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाई छ ।

 

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन् ।

 

नेकपा एमालेलाई मजबुत बनाउन नेता माधवकुमार नेपालको महत्वपूर्ण योगदान रहेको भन्दै नेता नेपाललाई पुनः एमालेमै फर्किन आग्रह गर्दै आएको बताइन् ।

ईश्वर पोखरेलको दावी : एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुन्छन्

 

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने टिप्पणी गरेका छन् । आज शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको दावी गरेका हुन् ।

 

उनले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनको भनाइ छ । उनले नेकपा(एमाले) ले बोकेको चरित्र भनेको विभाजन, विखण्डन नभएर एकताको पक्षमा दृढतापूर्वक उभिने भएको स्पष्ट पारे ।

 

प्रचण्ड र माधवको पार्टीले वडामा पनि जमानत जोगाउन सक्दैन : नेता रायमाझी

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड र माधवको पार्टीले वडामा पनि जमानत जोगाउन नसक्ने दावी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटीको १७ औं अधिवेशनमा बोल्दै रायमाझीले कांग्रेसलाई नेता मानेर कम्युनिष्ट आन्दोलनबिरुद्ध लागेको र प्रतिक्रियावादीको मतियार बनेको कारण प्रचण्ड र माधवको दलले वडामा पनि जमानत जोगाउन नसक्ने दावी गरे ।

उनले प्रचण्ड र माधवलाई कम्युनिष्ट भन्नसमेत नमिल्ने तर्क पनि गरे ।




सम्बन्धित
Loading...