वडा अध्यक्षलाई कार्य कक्षमा नभेटेपछि पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी





सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए ।

 

बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १० : १५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे ।

 




फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ ? अहिले सम्म कार्यलयमा नआउने हो ? भनेर धम्की दिन थाले । वडाअध्यक्षले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ बस्दै गर्नुस् न म वडाकै कार्यक्रमका लागि यता होटेलमा छु भनेर जवाफ दिएर फोन राखे ।

 

उनले फेरि वडाअध्यक्षलाई  फोन गरेर तपाइँ आउनुहुन्छ की वडा कार्यालय जलाइदिम ? भनेर धम्की दिए ।  त्यसपछि अध्यक्ष सुनारले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन निर्देशन दिए ।

 

‘यसको झण्डै १० मिनेटपछि वडा कार्यालयमा आगजनी भयो भन्ने खबर आयो’ वडाअध्यक्ष सुनारले भने, ‘म अचम्मित छु ।’ उनले दिएको जानकारीअनुसार आगजनी गर्ने व्यक्ति सोही वडाका वास्तवमा लामिछाने हुन् ।

 

आगजनीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएका छन् । लामिछाने त्यो दिन बिहानैदेखि दुईचार जनालाई काट्नुछ भन्दै खुँडा बोकेर हिँडेका थिए ।

 

अध्यक्ष सुनारले भने, ‘हाम्रो कर्मचारी भाई अलि सानो हुनुहुन्छ । डराएर बाहिर बसे । त्यी व्यक्ति  कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’ प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । नगरप्रमुख देवकुमार सुवेदीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक कनकबहादुर शाहीले  प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी दिए ।




सम्बन्धित
Loading...