ad

सरकार हराएको सूचना…

30


संजिव कार्की –

 

सरकार आज भन्दा ठिक ७२ दिन अघि बनेको थाहा छ l सरकार उसै पनि जनता र संसदले बनाएको होइन केवल अदालतको परमादेश र अन्त कतैको आदेश,हुकुम र मर्जीले बनेको आरोप सत्ताच्युत भएको नेकपा एमाले र अन्य उसँग निकटता राख्नेहरुले आरोप लगाएका छन् l निवर्तमान प्रधानमन्त्री ओलीले यो सरकारलाई भन्न बाँकी केही राखेका छैनन् l जनता र संसदबाट बनेको प्रधानमन्त्री म मात्रै हुँ देउवा त परमादेश बाट बनेका हुन् l




यो अवैधानिक सरकार हो l जनता रनभुल्ल छन् अदालत बैधानिक हुन् नसक्ने देशमा बैधानिक को हो र के हो ? यदि अदालत वैधानिक होइन भने ओली उभिएको संसद पनि वैधानिक होइन ? अवैधानिक संसदमा उभिएर संसद र सरकारलाई अवैधानिक भन्ने हक कसरी मिल्यो ? नैतिकता र इमानको कुरा हुन्थ्यो भने ओलीले संसद पुनर्स्थापना र सरकारका विषयमा संसद छोडेर बोल्नु पर्थ्यो l संसदबाट सम्पूर्ण सदस्य सहित राजीनामा दिएर निस्कदा अडान र असहमतिको संगति मिल्थ्यो l आफ्नो पार्टीले संसद छोडेकोले सडकबाट आवाज उराल्न सक्थ्यो ? अवैधानिक संसद र सत्ताको लागि संसदमा नाराबाजी जरुरि थिएन l जरुरी थियो बिरोध गर्ने नैतिकताको ? त्यो पनि देखिएन ?

 

परमादेस वाला सरकार र संसद नमान्नेले यसको उचित र अनुचित क्रियाकलापको बिरोध संसद भित्र बसेर, संसदका सबै सेवा र सुबिधा लिएर कसरी सम्भव हुन्छ ? तसर्थ संसद भित्र बसेर नेकपा एमालेको कोब्रा डान्स संसदीय मर्यादा बाहिरको कुरा हो l सरकार अवैधानिक पनि भन्ने अनि उसका हरक्रियाकलाप वैधानिक पनि हुनुपर्ने कुरा आफैमा विरोधाभाष र हास्यास्पद छ l

 

संसद छोडेर त्यागेर बाहिर निस्केर गर्ने बिरोधमा जुन दम र नैतिक तागत हुन्छ त्यो दम र तागत संसद भित्र बसेर किमार्थ हुन् सक्दैन l कुनैपनि राजनीतिक र अदालती निर्णयलाई हेर्ने दोहोरो मापदण्ड गलत हुन् l अदालतको निर्णयमा चित्त नबुझ्न सक्छ तर निर्णय मानिसकेपछि र मान्ने भएपछि निर्णयलाई लिएर गरिएको कार्यन्वयनमा प्रश्न गर्न मिल्दैन त्यो राजनीतिक कानुनि र सभ्य चरित्र होइन l

 

आजभोलि भैरहेको संसद अबरुद्द गर्ने विषय पनि अदालतमा मुद्दा विचाराधीन भएर नेकपा समाजवादी बनेका १४ संसद्को खारेजी अदालतको विषय र कार्यक्षेत्र भित्र रहेको छ तसर्थ यसको सैधान्तिक बिरोध गरेर अदालतको फैसला पर्खनु वान्छनीय छ l तर नेकपा एमालेले डबल स्ट्याण्डर्ड देखाएर सत्ताच्युत हुनुको प्रतिशोध लिइरहेको देखिन्छ l भलै सभामुखको निर्णय र पक्षधरता होला अब त्यसको निकास दिने अदालत भएको कारण संसदमा रुमलिनु आवश्यक छैन l यदि अदालत नगएको विषय र संसद पुनर्स्थापनालाई सहज लिएको भए सभामुख बिरुद्द संसदीय कारबाहीको प्रोसेस गर्न सकिन्थ्यो त्यो पनि नगरेर एमालेले बिशुद्द निषेध र प्रतिशोधको राजनीतिक नौटंकी संसदमा गरिरहेको छ l निसन्देह सभामुखको भूमिकामा प्रश्न उठाउने ठाउँ र विगतमा गरिएका कामकारबाहीमा र वर्तमान परिप्रेक्षमा गरिएको संसदीय कारबाहीको फैसलामा एकरुपता नभएको देख्न सकिन्छ l

जसको लागि उनको मूल्यांकन इतिहासले गर्ने छ l कलंकको टीका अग्निले लाउनेछ्न् l कि कानुनी बाटो खोज्नु पर्छ कि राजनीतिक संवाद ? अन्यथा तुष बोकेर गरिने बिरोध र प्रतिरोधले हुने क्षय सरोकारवालालाई हो l अदालत प्रवेश गरेको मुद्दामा संसदमा बिरोध सम्म गर्न सकिन्छ प्रक्रिया नै रोक्न बलजफ्त गर्न मिल्दैन l यी भए वर्तमान सरकार र संसद्को पृष्ठभूमिका कुरा l

 

अब कुरा गरौ सरकार कहाँ छ ? जुन उदेश्य र लक्ष्य बोकेर गठन भएको सरकार गुणात्मक उपस्थितिको कुरा अन्यथा भए पनि संख्यात्मक उपस्थिति पनि देखाउन नसकेर झन्डै झन्डै गुमनाम छ l सरकार गुमनाम हुंदाहुदै पनि अस्ति संविधान दिवसको दिन ९०० जति तक्मा पदक र बिल्ला बोकेर निस्कियो l राज्यले दिने सम्मान मर्यादा र योगदानको कदरको रुपमा पदकलाई लिइन्छ जुन राज्यले आफ्नो महत्वपूर्ण विशेष दिन पारेर घोषणा गर्छ र महत्वपूर्ण दिवसमा राज्यप्रमुखबाट सम्बन्धित माहानुभावलाई सुशोभित गरिन्छ l

तर नेपालको तक्मा पुरस्कार र स्याबासी यति बदनाम अपारदर्शी र विवादित बनाईयो कि सक्षम र वास्तविक हकदारलाई समेत बिझाउने र मर्यादाहीन देखाउने जस्तो भयो जसले गर्दा योग्यको गर्धनमा पनि नालायकको हारमा बसेर पदक लिँदा लज्जाबोध गर्नुपर्ने स्थिति बन्यो l यसपाली पनि संबिधान दिवसको यही बिबादास्पद निर्णय सार्वजनिक गर्दा रैतीले सरकार देखे l यसर्थ सरकार हराएको चै छैन l तर जे कुरा ओलीले दिएनन् भनेर ओलीलाई बर्खास्त गरियो त्यो कुरा दिन सरकारले दिने यावत डेलिभरी दिन यो सरकार चुकेको छ l सरकारले आफ्नो आकार प्रकार र पूर्णता दिन सकेन भने अरु कसरी दिन सक्छ सेवा र सुबिधा ?

 

विधिको अर्को बिडम्बना इतिहासमै असाध्यै ठूलो ४८ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएर आलोचनाको शिकार बनेका देउबा यतिका दिन सम्म पाँच सदस्यको सानो मन्त्रिपरिषद् दिएर पनि आलोचित छन् l

 

यतिबेला देउवाले विगतको दोष मेटाउन र मितव्ययी सरकार चलाउन, खर्च कटौतीको प्रस्ताव गरेर र नेपालको सन्दर्भमा भद्दा मन्त्रिपरिषद् काम छैन भनेर पनि सरकार उदाहरणयोग्य बनाउन खोजेका पनि हैनन् l केवल सत्ता गठबन्धन जसको साँचो अरुकै हातमा छ तिनको चित्त बुझाउन र आफ्नो पार्टीको चित्त बुझाउन नसक्दा देउवा सानो सरकार लिएर निराकार छन् l सरकार सदृश्य छैन l धुमिल  रुपमा मात्रै सरकार देखिन्छ l आकारमा फैलन सकेका छैनन् सरकारका गतिबिधि l

त्यसैले सरकार हराएको छ सरकार गुमनाम छ l कथं सरकार देखियो भेटियो भने पनि बदनाम भएर आउँछ l कम्तिमा ओली हँसाएर जोक सुनाएर भए पनि सरकार जिवितै भएको र नहराएको अनुभूत गराउथे l वर्तमान प्रधानमन्त्रीले काम गर्न नजान्नु र नसक्नु एउटा पाटो थियो छ तर बोल्न पनि जान्दैनन् र प्रवक्ता मार्फत सुनिने गरि बोल्न पनि लगाउदैनन् l अघिल्लो सरकार बोलेर दिक्क लगाउँथ्यो यो सरकार नबोलेर दिक्क लगाउछ l धेरै बोल्नु र बोल्नै नजान्नु यी दुवै सरकारमा जानेका कमजोरी रहेछन् l

 

बोल्दै नबोल्नेले काम गरेर देखाए पनि हुन्थ्यो तर सरकारहरु सुनाम हुने काम गर्न जान्दैनन् फगत दुर्नाम हुने काम चै गरिरहन्छन् l बजेट होलिडे समेत गर्नुपर्ने परिस्थितिको जिम्वेवार को हो ? हुन् त कुनै पनि र केही कुराको पनि जबाफदेहीता र उत्तरदायित्व बोध नगर्ने सरकार र प्रतिपक्ष भएको देशमा जवाफदेहिता र नैतिकता खोज्नु आफिमा अनौठो पक्ष हो l यद्दपि बोल्नेहरूले बोल्नै पर्छ खबरदारी गर्ने पर्छ l

 

सरकार सबैले महशुस हुने गरि नदेखेको नभेटेको धेरै भयो । तसर्थ सरकार चाहियो । सरकार चाहियो भन्नुको मतलव सरकार हराएर ,सरकार नबनेर, सरकार बनाउन नपाएर होइन । केन्द्रमा एक थान, प्रदेश र स्थानीय तहमा गरेर तीन थान सरकार भौतिक उपस्तिथिको हिसाबले जतासुकै छ ।

 

गणनामा सरकार विद्यमान छ । तर जनताको दुखमा मलम बनेर सरकार यदाकदा मात्रै पुगेको तर सदासदा नपुगेको गुनासो आम मान्छेको छ तसर्थ सरकारको खोजी जोडतोडले व्यापक रूपमा भएको छ । सरकार कामयावी भएर नभेटिएको गुनासो दुई तिहाई सरकार हुँदा पनि आएको थियो l त्यसैले हिजो पनि गीत गाएर सरकारको खोजी चलेको थियो । कविता भनेर सरकारको खोजी गरिएको छ । लेख लेखेर सरकार मागिएको छ ज जसले जे जे मार्फत खोज्नु पर्ने हो खोजेका छन् तर सरकार भेटिएको छैन ।

 

निर्मला पन्त,भागिरथी भट्ट, सम्झना कामी । राजु सदा सूर्यबहादुर तामाङ सीता तामाङलाई सरकार कहिल्यै आएन । किनभने यिनीहरू कति बलात्कारमा परेर मरे कतिले आज पनि आफ्नो बलात्कार गर्ने को हो ? राज्य सत्तासँग सोध्न पाएका छैनन् । भोकले मर्न दिन्न भन्नेको आँगनमै भोकले मर्नु पर्यो भने कतिले जीवनजल नपाएर मर्नु पर्यो तथापि सरकार दावी गर्दैथ्यो  सिटामोल र जीवनजलको अभाव देशमा कहीँ कतै भए मार्दिनु ? यति हुँदा हुँदै पनि भ्रष्टाचार, कमिसन, दलाली ,अनाचार दुराचार र अस्तव्यस्ततामा भने सरकार एक नम्बरमा भेटिन्छ । यो विगत देखिको अर्बुद रोग हो l अनाचार दुराचार व्याभिचार र भ्रष्टचारमा सरकार भेटिन्छ l करोडौं कमिसनको डिल गर्न भने सरकार आफै अघि सर्छ । सरकार भेटिन्छ । जनताको स्वास्थ्य शिक्षा शुसाशन र संवेदनशीलतामा भने सरकारको नामोनिसानो पाइन्न । सरकार मल किन्ने बेला पाइन्न l सुनमा सरोकार राख्छ सरकार तर जनताको चुलोको नुनमा बेखबर बन्छ l

 

सरकारको निरन्तरता मात्रै सरकार होइन अघिल्लो सरकारले दिन नसकेका र हामी आएपछि दिन्छौ भनेको कुरा दिन नसकेकोले यो सरकार पनि हराएको हो l यो सरकार अलमलिएको छ गंजागोलमा फँसेको छ l सरकारको पूर्णता नै सम्पूर्णता होइन तथापि पूर्णताले अर्थ राख्छ,कम्तिमा सरकार नम्बरमा देखिन्छ l केही न केही सहजता हुन्छ l  त्यसैले नागरिक सरकारको खोजीमा छन् सरकार कहिले र कहाँ भेटिन्छ देउवाज्यू ? सरकार कहिले बन्छ प्रचण्ड ज्यू ? सरकारको पूर्णतामा तपाईको पार्टीको भूमिका खै माधव ज्यू ?

 

रैतीले सरकार चाहेर पनि भेट्टाउन नसकेको धेरै भयो ? हाम्रा प्रधानमन्त्रीले १७ मन्त्रालयको भारी बोकेर हिंडेका छन् भने ५२ संस्थाको नेतृत्व प्रधानमन्त्रीले गरिरहेका छन् l प्रधानमन्त्रीले नेतृत्व गरेको संस्थाको २४ वर्षदेखि कुनै पनि बैठक समेत नबसेको रेकर्ड छ l

 

यसबाट थाहा लाग्छ देश कसरी चलिरहेछ l एउटा मन्त्री थप्न पनि बडो सकस र कष्टमा प्रधानमन्त्री भएको कारण हिजो मात्र एकजना परराष्ट्र मन्त्री थप्ने सहमति सत्तारुढ दलमा भएको समाचार बाहिरिएको छ l गठबन्धनको अन्तरिक समस्या र किचलो भनेर जनता कति दिन चुपचाप बस्ने ? हाम्रो सरकार भएपछि सबै कुरा दिन्छु भन्ने सरकारका महारथीहरू आन्दोलन गर्न र प्रतिगमन सच्याउन रैतीलाई सडक बोलाउदा गर्नु भएको वाचा र लिनु भएको संकल्प भुल्नु भयो कि ? सरकार हराएको सूचनाजारी गरौ ?



You might also like
Loading...