पूर्व-पश्चिम राजमार्ग दिनभर बन्द गरेर एमाले महाधिवेशन उद्घाटन


 




 

नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीहरुलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ ।

 




जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

 

 

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाट समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदै छ ।

 

यो दिन मानिसहरुको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सन्चालनमै रोक लगाउने निर्णय गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरुलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरुलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने जानकारी दिए ।

 

यसैगरी काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरुलाई आँपटारी र पूर्वबाट आउने गाडीहरुलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने बताए । पूर्वी नेपालतर्फ आउ-जाउ गर्नेहरुले आँपटारी-बाइपास रोड हुँदै यात्रा गर्न सक्ने प्रजिअ तामाङले बताए ।

 

 

नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ । त्यो दिन मानिसहरुको भिड र पार्किङ व्यवस्थापनलाई अधिकारीहरुले प्रमुख चुनौती मानेका छन् । भिड व्यवस्थापनका लागि गृह मन्त्रालय र छिमेकी जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरिएको प्रजिअ तामाङले बताए ।

 

 

गाडी नचलाइदिन अनुरोध

 

उदघाटन समारोह साँझ ५ बजेसम्मै चल्ने अनुमान छ । त्यसैले नारायणगढको मुख्य बजार क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन बेलुकासम्मै प्रभावित हुने अनुमान छ । त्यसैले चितवन प्रशासनले १० गतेको दिन सकेसम्म गाडी नचलाइदिन र नारायणगढ बजार क्षेत्र भएर यात्रा नगरिदिन अनुरोध गरेको छ ।

 

 

‘भिडभाडको व्यवस्थापन र मानवीय सुरक्षा प्रमुख चुनौती छ । त्यसैले त्यो दिन सकेसम्म गाडीहरु नचलाइदिनू भनेर अनुरोध गरेका छौं,’ प्रजिअ तामाङले भने, ‘त्यो दिन १० बजेपछि पश्चिमबाट आउने गाडीहरुलाई नारायणी पुलबाट क्रस गर्न हामी दिन्नौं । पूर्वी नेपालबाट आउने गाडीहरुलाई जिल्ला प्रशासन कार्यालय चोकबाट पश्चिम छिर्न दिन्नौं ।’ पश्चिम चितवनबाट आउने गाडीहरु भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिनुपर्ने छ ।

 

 

जिल्ला प्रशासन कार्यालयको यो निर्णयबाट सबैभन्दा बढी प्रभावित पश्चिम नेपालबाट यात्रा गर्नेहरु हुनेछन् । उनीहरु काठमाडौंतर्फ आउनुपर्ने भएमा बुटवल-पाल्पा-पोखरा-मुग्लिन हुँदै यात्रा गर्नुपर्ने छ ।

 

यसरी घुमाउरो बाटो प्रयोग नगर्ने भए एमालेको महाधिवेशन उदघाटन समारोह अवधिभर बाटोमै कुरेर बस्नुपर्ने छ ।

 

 

त्यो दिन सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न वा समय मिलाएर गाडीहरु छाड्न छिमेकी जिल्ला प्रशासन कार्यालयहरुलाई पनि भनिएको चितवनका प्रजिअ तामाङले बताए ।

 

 

गैंडाकोटतर्फको नारायणी किनार, आँपटारी, भरतपुर केन्द्रीय बस टर्मिनल, त्रिचोकसम्मको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले कोर एरिया तोकेको छ । महाधिवेशनमा आउनेहरुका लागि यिनै स्थानमा पार्किङ क्षेत्र तोकिएको छ । पार्किङ क्षेत्रमै पनि महाधिवेशनको उदघाटन समारोहलाई हेर्न मिल्ने गरी डिस्प्ले बोर्ड राखिने भनेर आयोजकले जनाएको प्रजिअ तामाङले बताए ।

 

 

महाधिवेशनको उदघाटन समारोह नारायणगढ नदी किनारमा र बन्दसत्र सौराहामा हुने एमालेले जनाएको छ ।

  • अनलाइन खबरबाट

 

 




सम्बन्धित
Loading...