कावासोतीका रजालीको तरकारी खेतीबाट एक सिजनमै ८ लाख बढी कमाई, मिहिनेत गरे जानु पर्दैन विदेश


 

 




 

कावासोती  –

 

 




कावासोती चार हसौराका छन् वहादुर रजालीले तरकारी खेती गर्दै आएको बीस वर्ष भयो । लामो समयदेखी कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थीतमा पनि कहिल्यै विचलित हुनुभएन । पेशाप्रतिको लगाव , मेहेनत र निरन्तरताले नै उहाँ अहिले एक सफल किसान बन्नुभएको छ ।

 

 

कृषि पेशाबाट नै उहाँको जिवन स्तर माथी उठेको छ । कुनै समय विदेश ताकौँ कि ? भन्ने सोँच गर्नुभएको उहाँलाई तरकारी खेती सुरु गरेपछि आयआर्जन हुन लाग्यो । त्यसै आम्दानीले उहाँलाई साहस दियो ।

 

 

उहाँ भन्नुहुन्छ – ‘तरकारी खेतीबाट नै राम्रो आम्दानी गर्न थालेपछि विदेश किन जानु भन्ने सोँच आयो । त्यसैले आफ्नै देशमा पसिना बगाउने निर्णय गरे । राम्रो पनि भयो । ’ तरकारी खेती गरेको आम्दानीले नै हसौरामा एक विघा जग्गा खरीद गरेको रजालीले बताउनुभयो । ‘सुरुआतमा तर थोरै क्षेत्रफलमा खेती गर्थे , अहिले आफ्नै एक विघा जग्गा किनँे , घर घरडेरी जोडे , घरपरिवार चलाउन , छोराछोरी पढाउन सबै यसैबाट पुगेको छ । ’ रजालीले भन्नुभयो ।

 

 

रजालीले मौसमी वेमौसमी सबै खेती गर्दै आउनुभएको छ । अहिले उहाँको खेतमा काक्रा लटरम्म फलेका छन् । उहाँले बढी मात्रामा लगाउने खेती भनेकै काक्रा हो । काक्राको बजार राम्रो रहेको हुँदा उहाँले कम्तिमा चार सिजन काक्रा खेती गर्नुहुन्छ ।

 

 

त्यसबाहेक बोडी , भिन्डी , टमाटर , खुर्सानी लगायतका तरकारी खेती गर्ने गरेको उहाँ बताउनुहुन्छ । कुनै प्राकृतिक प्रकोप , रोग किरा नलागे , भाउ राम्रो परेमा तरकारी खेतीबाट निकै राम्रो आम्दानी हुने गरेको उहाँको भनाई छ । एक सिजनमा तरकारी खेतीका लागि करीब डेढ लाख रुपिँया लगानी लाग्ने गरेको उहाँले बताउनुभयो ।

 

 

खेती राम्रो भएमा र भाउ पाएमा एक सिजनमै बढिमा दश लाख रुपिँयासम्म आम्दानी हुने र सातदेखी आठ लाख रुपिँयासम्म नाफा हुने गरेको उहाँको भनाई छ । वार्षिक रुपमा करीब बीसदेखी २५ लाख रुपिँयासम्म नाफ हुने उहाँले बताउनुभयो ।

 

 

सुरुआतका दिनमा खेती गर्दा धेरै दुःख कष्ट गनुपरेको सम्झदै उहाँ भन्नुहुन्छ – ‘पछिल्लो समय त धेरै ठाउबाट अनुदान पाईन थालेको छ । विभिन्न आधुनिक सामाग्री आएका छन् । खेती गर्न पनि सहज हुँदै गएको छ । ’

 

 

जिल्लामा प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगत ‘तरकारी जोन ’लागु भएपछि धेरै सहज भएको उहाँको अनुभव छ । उहाँ मात्रै होईन अहिले यस क्षेत्रका अन्य किसानहरु समेत यस परियोजनाबाट लाभान्वित भएका छन् ।

 

 

रजाली हात्तीबूढे कृषक समूहको अध्यक्ष समेत हुनुहुन्छ । यस समूहमा ३० जना कृषक आबद्ध छन् । अहिले सबै कृषकले गरेर यस क्षेत्रमा करीब विघा क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गर्दै आउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगत विभिन्न सामाग्री अनुदानमा सहयोग पाउँदा नयाँ किसान समेत तरकारी खेतीमा आकर्षित बनेको उहाँको भनाई छ ।

 

 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाइ पूर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माका अनुसार ‘तरकारी जोन’ कार्यक्रम संचालन भएका क्षेत्रमा तरकारी उत्पादन वृद्धि गर्न किसानहरुलाई बिभिन्न तालिमहरु प्रदान , बीउबीजन , मल्चिङ्ग, सिचाईको प्रवन्ध , जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन , यान्त्रिकरणमा अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो ।

 

 

कावासोती नगरपालिकाको वडा न.४,९ ,१०, १२, १५, १६ र १७ यस्तै मध्यविन्दु नगरपालिकाको १, २ ,६ र ९ र हुप्सेकोट गाउँपालिकाको वडा एक देखी ४ न. सम्म गरि तीन स्थानीय तहको १५ वडा वडाको करीब ५ सय १० हेक्टर क्षेत्रफल ‘तरकारी जोन’ कार्यक्रममा समेटिएको छ ।

 

 

 




सम्बन्धित
Loading...