ad

उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

50


सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो ।

यस वर्षको मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । उत्पादन लागत, ढुवानी खर्च र मुनाफाको आधारमा मूल्य निर्धारण गरिएको हो ।




गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको

थियो । मन्त्रालयले किसान र उद्योगीसँग छलफल गरेर उखुको मूल्य मन्त्रिपरिषद्मा पठाएको थियो ।
नेपाल उखु उत्पादक महासंघले भने सरकारले निर्धारण गरेको मूल्यले किसानलाई कुनै राहत नमिलेको बताएको छ । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखुको लागत मूल्य बढेकाले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ निर्धारण गर्न माग गरिएपनि सोअनुरुप मूल्य निर्धारण नभएको बताए । “हामीसँग छलफल नगरी सरकारले एकलौटी मूल्य निर्धारण गरेको छ । यसले किसानलाई कुनै राहत नमिलेकाले उखु व्यवसाय गर्नेको संख्या घट्दै गएको छ,” उनले भने ।

अघिल्लो वर्ष उखु बिक्री गरेको रकम उद्योगीले अझै भुक्तानी नगरेको र सरकारले उचित मूल्य वृद्धि नगरेकाले किसानलाई कुनै राहत नहुने उनको भनाइ छ । उखु क्रसिङ सुरु हुनु अघि नै मूल्य निर्धारण गर्नुपर्नेमा ढिला गरिएकोमा पनि उनले गुनासो गरे । किसानले उखुको उचित लागत नपाउने र समयमा उद्योगले उखु बिक्री गरेको रकम भुक्तानी नगर्दा यस व्यवसायबाट किसान पलायन हुन थालेका छन् ।

गत वर्ष उखुको उत्पादन कम हुँदा बजारमा चिनीको मूल्य बढेको छ । पछिल्लो समय उखु खेती घट्दै गएपछि चिनी उत्पादन पनि कम हुन थालेको छ । गत वर्ष एक लाख १० हजार क्विन्टल चिनी उत्पादन भएको चिनी उत्पादक संघले जानकारी दिएको छ । मुलुकमा वार्षिक साढे दुई लाख क्विन्टल चिनीको माग रहेको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिमाणमा चिनी आयात हुने गरेको छ ।

भारतबाट जीटुजीमार्फत मल खरिद गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको हो ।
भारतबाट मल खरिद गर्नका लागि यसअघि नै सचिव स्तरीय छलफल भएको थियो । पाँच वर्षका लागि जीटुजीमार्फत मल ल्याउने सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ । कति परिमाणमा मल ल्याउने विषयमा पछि निर्णय हुने भएको छ ।



You might also like
Loading...