ad

स्वीजरल्याण्ड र अमेरिकाबाट फर्केर आधुनिक कृषिमा रमाउँदै मामाभान्जा

120


विराटनगर –१२ दरैयाबस्तीका गजेन्द्र शर्मा बन्जारा र सन्जय चापागाईं मामाभान्जा हुन्। दुवैको करिअरको सुरूआत होटल व्यवसाय क्षेत्रबाट भएको थियो।

गजेन्द्र बन्जाराले त स्विट्जरल्यान्ड र अमेरिकामा होटल व्यवस्थापन नै पढे। अधिकांश समय अमेरिका र युरोप बसे। उतै पढाइ सिध्याएर उनी चीनतिर लागे।




केही समयको नेपाल बसाइमा गजेन्द्रले नै भान्जा सन्जयलाई होटल व्यवसायमा जोडेका थिए।

गजेन्द्र अहिले चीनको राजधानी बेइजिङमा रहेका दुई ठूला होटल, हिल्टन र कोन्ड्राइडमा जनरल म्यानेजर छन्। विश्वकै ठूलोमध्येको सहर बेइजिङका दुई प्रतिष्ठित होटलको उच्च तहमा कार्यरत गजेन्द्रले अहिले आफ्नै गाउँमा करोडौं लगानीमा कृषि फार्म सुरू गरेका छन्।

उनको मुख्य साझेदार बनेका भान्जा सन्जय पनि होटल व्यवसाय छाडेर ढुक्कै खेतबारीमा खटिएका छन्।

यी मामाभान्जाले बन्जारा एग्रो फार्म एन्ड इन्डस्ट्रिजमा आठ महिनाभित्र आठै करोड लगानी खन्याइसके। गाउँमा रहरलाग्दो कृषि फार्म खडा गरिसके जहाँ ५० वटा उन्नत जातका गाई छन्। पाँच विघा क्षेत्रफलमा विभिन्न जातका तरकारी हुर्किरहेका देखिन्छ।

‘मामा त बेलाबेला बिदामा आउनुहुन्छ,’ भान्जा सन्जयले सुनाए, ‘तर यो उहाँकै सपनाको कृषि फार्म हो। उहाँले चीनमै बसेर लगानीमा सहयोग गर्नुहुन्छ। म यहाँ व्यवस्थापनका सबै काममा खटिएको छु।’

प्रदेश १ को राजधानी सहर विराटनगरका जमिनमा कृषिभन्दा बढी फस्टाएको कारोबार हो प्लटिङ। चारकुना मिलेको जमिन देख्नै नहुने, प्लटिङ सुरू भइहाल्ने श्रृंखला वर्षौंदेखि जारी छ। यसरी प्लटिङ कारोबार फस्टाएको विराटनगरको जमिनमा व्यवस्थित र आधुनिक कृषि फार्मको सपना गजेन्द्रले चीनमै देखेका थिए।

उनका अनुसार बेइजिङको चमकधमकभन्दा थोरै बाहिर निस्कनासाथ रहरलाग्दो हरियालीयुक्त खेतीपाती देखिन्छ। त्यसले उनलाई सधैं लोभ्याउँथ्यो। विशाल गाई फार्म र त्यसको वरिपरि झुप्पा लागेर फलेका तरकारीले उनलाई बेलाबेला बेइजिङभन्दा बाहिरका ग्रामीण इलाकामा डोर्‍याउँथ्यो।

‘यहाँको खेतीपातीले मलाई सधैं त्यस्तै गर्न पाए हुन्थ्यो भनेर सपना देख्न बाध्य पार्थ्यो,’ अहिले बेइजिङमै रहेका गजेन्द्रले इमेल कुराकानीमा भने, ‘विराटनगरकै गाउँमा जमिन लिने र त्यसरी नै खेती गर्न पाए हुने भन्ने लागिरहन्थ्यो।’

मनभरि यस्तो हुटहुटी लिएर बिदामा विराटनगरस्थित घर आइपुग्दा उनी आफ्ना भान्जा सन्जयसँग सल्लाह गर्थे।

‘भान्जा, उन्नत तरिकाले व्यवसायिक रूपमा खेतीपाती गर्नुपर्छ,’ गजेन्द्र हौस्याउँथे।

गजेन्द्रको योजनाले सुरूमा सन्जयलाई हच्काउँथ्यो। उनको योजनामा लगानीको आकार ठूलो थियो। आकर्षक विदेशी कमाइमा रमाइरहेका गजेन्द्रको कुराले नेपालको होटल व्यवसायमै जमिरहेका सन्जयलाई उत्ति छुँदैनथ्यो। काठमाडौंमा ‘द ढावा’ र विराटनगरमा ‘प्याराडाइज प्लाजा’ होटल खोलेर उनी अर्कै संसारमा रमाइरहेका थिए।

त्यस बेला माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्दै थियो। काठमाडौंको ढावा राम्ररी चले पनि विराटनगरको प्याराडाइज प्लाजा थला पर्न थाल्यो। त्यसको कारण थियो, साँझमा धेरै चल्नुपर्ने होटल पाँच नबज्दै बन्द गर्नुपर्ने अवस्था।

खुला हुनुपर्ने बेलामा बन्द गर्नुपर्ने र नखोले पनि हुने समयमा खोलेर बस्नुपर्ने बाध्यताले सन्जयलाई दिक्क बनायो। अनि उनी होटल बन्द गरेर खेतीपातीमै लाग्ने टुंगोमा पुगे।

यो २०६२ सालतिरको कुरा हो।

होटल व्यवसाय पूर्ण रूपमा बन्द गरेर उनले दरैयाबस्तीमा रहेको आफ्नै जमिनमा सानो खेतीपाती थाले। आफ्नै खेतबारीमा रमाउन थाले। मामा गजेन्द्र बिदामा घर आउँथे। अनि फेरि भन्थे, ‘भान्जा अझै ठूलो आकारमा व्यवस्थित रूपमा खेती गर्नुपर्छ। बरू मामाभान्जा मिलेर गरौं।’

होटल व्यवसायमा आफैंले डोर्‍याएका सन्जयलाई कृषिकर्ममा लाग्न सधैं हौस्याउने गजेन्द्रले दुई वर्षअघि चीनबाट फर्किँदा भने बन्जारा एग्रो फार्म एन्ड इन्डस्ट्रिजको प्रस्ट योजना कोरेरै ल्याए।

चरणबद्ध त्यो योजनामा जम्मा तीन चरण उल्लेख थियो। दुई वर्षअघिको त्यही योजनाअनुसार मामाभान्जा मिलेर आठ महिनाअघि विराटनगरमा एग्रो फार्म सुरू गरेका हुन्।

तीन चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेर आठ महिनाअघि सुरू गरेको यो फार्मले स्वचालित प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी गरेको छ। यो प्रणालीमा जाँदा कम जनशक्तिमा धेरै काम गर्न सकिन्छ।

‘त्यसैले फार्म पूर्णरूपमा अटोमेटिक बनाइने गरी संरचना निर्माणको काम जारी छ,’ सन्जयले भने, ‘गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम आधुनिक उपकरणबाट स्वचालित हुनेछन्।’

होटल व्यवसायमा लामो समय बिताएका उनीहरूले कृषि उद्यममा हात हाल्दा सबभन्दा बढी लगानी जमिनमै गर्नुपरेको छ।

‘हालसम्म आठ करोड लगानी भइसक्यो। विराटनगर महानगरभित्रैको पाँच विघा जमिन किन्नै ६ करोड रूपैयाँ लाग्यो,’ सन्जयले भने, ‘बाँकी रकम गाई, खेतीपाती र त्यसको संरचना निर्माणमा खर्च भइसकेको छ।’

उनीहरू यतिमै सीमित छैनन्। आगामी छ महिनाभित्र ५० करोड रूपैयाँ लगानी गर्ने र दुई सय वटा गाई पुर्‍याउने योजना छ। त्यस बेला दैनिक पाँच सय किलो तरकारी उत्पादन गर्ने योजना पनि बनाएका छन्।

अहिले पहिलो चरणको काम अगाडि बढ्दै गर्दा फार्मले दैनिक आठ सय लिटर दूध उत्पादन गर्न थालेको छ। आउँदो वैशाखदेखि दैनिक १५ सय लिटर दूध उत्पादन गर्नेगरी कामलाई तीव्रता दिएका छन्। वैशाखअघि नै सय वटा गाई पुर्‍याउने सञ्चालक सन्जयले जानकारी दिए।

फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाई छन्। केही दिनमा थप १५ वटा गाई भारतको पञ्जाबबाट आइपुग्ने फार्मले जनाएको छ। पहिलो चरणको काम सकिनासाथ, वैशाखदेखि दूध बोतलमा हालेर (बोटलिङ) गरी बजार पुर्‍याउने तयारी पनि उनीहरूले गरेका छन्।

 

 

प्रविधि र उपकरणकै कारण दुई सय गाई दुहुन दुई जना जनशक्ति लाग्ने फार्मले जनाएको छ। त्यस्तै फार्म पूर्ण रूपमा सञ्चालनमा आएपछि दैनिक पाँच हजार लिटर दूध र पाँच सय किलो तरकारी उत्पादन गरेर बजार पठाउने गरी काम भइरहेको पनि सन्जय बताउँछन्।

सन्जयका अनुसार गाईलाई फार्म आफैंले उत्पादन गरेको गुणस्तरीय साइलेज खुवाइन्छ। साइलेज भनेको पोषण नमासीकन सुकाइएको घाँस हो।

‘यसका लागि सुनसरीको देवानगञ्जका किसानसँग ५० बिघा खेतमा मकै खेती गर्ने सम्झौता भएको छ,’ सन्जयले भने, ‘किसानले वर्षको दुई सिजन मकै खेती गरेर साइलेज बनाउन दिन्छन्।’

फार्मले मकै काट्ने र साइलेज बनाउने मेसिन किसानको खेतमै पुर्‍याउँछ। खेतमा रोपेको मकै ८५ औं दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

फार्मले दूधसँगै विकसित जातका गाईको नश्ल उत्पादनमा पनि जोड दिएको छ। उन्नत जातका गाईका बाछी किसानलाई उपलब्ध गराउने लक्ष्य फार्मको हो।

युवा जनशक्ति कृषिबाट विमुख भइरहेका बेला गजेन्द्र र सन्जयले पेसै परिवर्तन गरी कृषिमा लगानी गर्ने आँट गरेका छन्। उनीहरूको कामको सरहाना गर्दै पशु सेवा विभागका उप–महानिर्देशक लेखराज दाहाल सरकार र अन्य सरोकारवालाले उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन्।

मंगलबार फार्म अनुगमनका लागि आइपुगेका उप–महानिर्देशक दाहालले भने, ‘यसरी कृषि क्षेत्रमा लागेका उत्साही युवाले अरूलाई पनि प्रेरित गरिरहेका हुन्छन्।’



You might also like
Loading...