यूपीमा भाजपालाई झट्का : दुई दिनमा दुई मन्त्रीसहित ६ नेताले पार्टी छाडे


उत्तर प्रदेशको मन्त्री पदबाट राजीनामा दिएका दारा सिंह चौहान र स्वामी प्रसाद मौर्य सपा अध्यक्ष अखिलेश यादवको साथमा ।

 




भारत उत्तर प्रदेशको विधानसभा निर्वाचन नजिकिंदै गर्दा योगी आदित्यनाथ नेतृत्वको सरकारबाट दुई दिनको बीचमा दुई मन्त्रीले राजीनामा दिएका छन् । यसैगरी अन्य चार विधायकले भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् ।

बुधबारको दिन नेता दारा सिंह चौहानले मन्त्री पदबाट राजीनामा दिएका छन् । त्यसअघि मंगलबारको दिन मन्त्री स्वामी प्रसाद मौर्यले राजीनामा दिएका थिए । स्वामी प्रसाद मौर्य उत्तर प्रदेश राज्यमा प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

 




राजीनामा दिएपछि टेलिभिजन च्यानलहरुलाई प्रतिक्रिया दिने क्रममा उनले भनेका छन्, ‘मैले बसपा छोड्नुभन्दा एक दिन अघिसम्म उत्तर प्रदेशको राजनीतिमा बसपा एक नम्बर थियो । आज त्यसको अत्तोपत्तो छैन । म भाजपामा सामेल भएपछि पार्टीलाई १४ वर्षको वनबासबाट निकालें । पूर्ण बहुमतको सरकार बनाउन मैले सहयोग गरें ।’

मौर्य विरुद्ध पक्राउ पुर्जी जारी

यसैबीच उत्तर प्रदेश सरकारको मन्त्रीबाट राजीनामा दिएलगत्तै स्वामी प्रसाद मौर्य विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सन् २०१४ मा घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा उत्तर प्रदेशको सुल्तानपुरको अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको हो । आजभन्दा आठ वर्ष अगाडि देवी देवताविरुद्ध अभद्र अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ ।

उत्तर प्रदेशमा धेरै जातीय भोट स्वामी प्रसाद मौर्यसँगै रहेको विश्लेषण गरिन्छ । उनीसँगै भाजपा छाड्नेहरुको संख्या बढ्ने अनुमान गरिएको छ । गत मंगलबार नै मौर्यका समर्थक मानिने भाजपाका विधायकहरु ब्रजेश प्रजापती, रोशन लाल वर्ष र भगवती सागरले पनि पार्टीबाट राजीनामा दिएका थिए । यसैगरी भाजपाका विधायक अवतार सिंह भडाना पनि पार्टीबाट राजीनामा दिएर राष्ट्रिय लोक दलमा प्रवेश गरेका छन् ।

स्वामी प्रसाद मौर्य र दारा सिंह दुवै अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गर्ने चर्चा छ । यादवले उनीहरु दुवै जनासँग खिचेको फोटो सार्वजनिक गर्दै आफ्नो पार्टीमा ‘ससम्मान हार्दिक स्वागत’ भनेर लेखेका छन् ।

दुई दिनको अवधिमा सरकार र पार्टी छोड्ने ६ जना नेताहरुबाट भाजपालाई झट्का लागेको भनेर भारतीय मिडियाहरुले समाचार लेखेका छन् । यद्यपि यस बीचमा कांग्रेस र समाजवादी पार्टीका एक/एक जना विधायक भाजपा प्रवेश गरेका छन् । भाजपामा कांग्रेस विधायक नरेश सैनी र समाजवादी पार्टीका विधायक हरिओम यादव प्रवेश गरेका हुन् ।

उत्तर प्रदेशमा आगामी फेब्रुअरी १० तारिखदेखि विधानसभा निर्वाचन सुरु हुँदै छ । ४०३ विधानसभा सिटका लागि १० फेब्रुअरीदेखि ७ मार्चसम्म विभिन्न चरणमा निर्वाचन हुने छ । निर्वाचनको नतिजा १० मार्चमा सार्वजनिक हुने छ ।




सम्बन्धित
Loading...