ad

मौलाकालिका मन्दिरमा केबलकार निर्माण शुरु, १ बर्षपछि केवलकार सरर

98



गैँडाकोट । गैँडाकोटको मौलाकालिका मन्दिरमा केबलकार निर्माण गर्ने काम सुरू भएको छ ।

केबलकार सञ्चालनका लागि कागजी प्रक्रिया सकेर निर्माणको काम थालिएको हो । मन्दिरनजिकको हेलिप्याडमा केबलकारको माथिल्लो स्टेसन बनाइने भएको छ ।




स्टेसनको जग खन्नका लागि कामदारहरुले बुधबारदेखि नापजाँचको काम सुरू गरेका हुन् ।

एक वर्षभित्र केबलकार निर्माणको काम सकिने मौलाकालिका केबलकारका सञ्चालक चन्द्र ढकालले बताए ।

चन्द्रागिरि हिल्सका मालिकसमेत रहेका ढकालले मौलाकालिकामा २०७९ पुस मसान्तसम्ममा केबलकार निर्माणको काम सकिने बताए ।

केबलकार सञ्चालनका लागि अनुमति र स्वीकृति लिनुपर्ने सबै काम सकेर निर्माण कार्य थालिएको उनले बताए । ‘अब हामी तुरून्तै निर्माणमा जाँदैछौँ । मलाई लाग्छ, बढीमा एक वर्षभित्र केबलकार निर्माण सम्पन्न गर्न सक्छौँ’, उनले भने, ‘होटलका लागि चाहिँ अलिकति समय लाग्न सक्छ ।’

२०७९ माघेसङ्क्रान्तिमा भक्तजनले केबलकार चढेर मौलाकालिकाको दर्शन गर्न सक्ने गरी काम गरिएको उनले बताए ।

केबलकार सञ्चालनका लागि मन्दिरनजिक बनाइएको हेलिप्याडमा एउटा स्टेसन र डाँडाको फेदीमा अर्काे स्टेसन हुनेछ ।

हेलिप्याडमा बन्ने स्टेसनमाथि स्तरीय होटल र होटलमाथि हेलिप्याड बनाइने उनले बताए । चारतारे क्षमताको होटल बन्ने उनको भनाइ छ ।

१.३ किमी लम्बाइको हुने केबलकारमा सुरूवाती चरणमा १२ वटा डब्बा राखिनेछ । फेदीबाट करिब ७ मिनेटमा केबलकारको माथिल्लो स्टेसनमा पुग्न सकिन्छ । त्यहाँबाट बढीमा ५ मिनेट उकालो चढेपछि मौलाकालिका मन्दिर पुगिन्छ ।

केबलकारमा स्थानीयको ४९ प्रतिशत र आफ्नो ५१ प्रतिशत लगानी रहने उनको भनाइ छ । ‘स्थानीयहरुले लगानी कम्पनी दर्ता गरेर केबलकारमा लगानी गरिरहनुभएको छ । पैसा जम्मा गर्ने काम सुरू भइसक्या छ’, उनले भने । केबलकारमा सुरूमा डेढ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान छ । होटल पनि निर्माण गर्न थप एक वर्ष लाग्न सक्ने उनले बताए ।

मौलाकालिका दर्शन गर्न आउने वृद्धवृद्धा, बालबालिकालगायत अशक्तहरुलाई सहज हुने विश्वास लिइएको छ । ‘केबलकार सञ्चालन भएपछि यहाँको धार्मिक पर्यटनसँगै गैँडाकोट र चितवनको पनि आर्थिक गतिविधि वृद्धि हुने विश्वास छ’, उनले भने ।

केबलकार चलाउन सामुदायिक वनका एक हजार ३८ वटा रुख काटिएको छ । त्यसको सट्टा बुलिङटारमा रुख रोपिएको उनले बताए ।

केबलकार सञ्चालन भएपछि गैँडाको पर्यटकीय गतिविधि बढ्ने गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले बताए । त्यसको लाभ स्थानीयले लिन पाउने उनी बताउँछन् ।

केबलकार निर्माण भएपछि मौलाकालिका मन्दिरमा पुग्न तीनवटा बाटो हुने उनले बताए ।

मौलाकालिकाको मन्दिरमा अहिले पैदल र साना सवारीसाधन लिएर जान सकिन्छ । पैदलका लागि १८ सय ८२ वटा सिँढी राखिएको छ ।

मौलाकालिका डाँडाको फेदीमा रहेको मन्दिर प्रवेशद्वारबाट पूर्वतर्फबाट निर्माण गरिएको बाटो हुँदै मोटरसाइकल, कार, जिपलगायतका साना सवारीसाधन लिएर पनि मन्दिरमा पुग्न सकिन्छ ।

पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा पाल्पादेखि मौलाकालिका मन्दिर भएको स्थान हुँदै देवघाटमा स्नान गर्न आउने बाटो थियो ।

त्यसबेला काठको मौलो गाडेर पूजा गर्ने गरिन्थ्यो । २०३२ सालमा गैँडाकोट निवासी काशिनाथ पौडेल र कुमानसिंह गुरूङले सानो मन्दिर बनाएर वर्षको दुईपटक पूजा गर्न थाले ।

चैते दसैँ र बडादसैँमा पूजा गर्ने चलन भयो । कृष्णाष्टमीको दिन मन्दिरमा पूजा गर्नका लागि २०३७ सालमा धार्मिक सेवा समिति गठन भयो । त्यसपछि मन्दिरको रेखदेख गर्न पौडेल र गुरूङले समितिलाई जिम्मा दिए ।

२०४२ सालदेखि नियमित पूजा हुन थालेको मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमालले बताए ।

मौलाकालिकामा मन्दिरलगायतका पूर्वाधार निर्माणमा स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ठूलो योगदान रहेको उनले बताए ।

मन्दिर जान इच्छा भएका वृद्धवृद्धाका लागि केबलकार ठूलो सहयोगी बन्न सक्छ ।

नयाँ वर्षको पहिलो महिना वैशाखमा झन्डै दुई लाख जना भक्तजनले मन्दिरको दर्शन गर्ने उनी बताउँछन् ।

 

 

यो पनि

नवलपरासीमा नारायणी नदीमा युवतीको वेवारिसे शव फेला

नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते

बुटवल देबीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाकाे मृत्यु,३ जना घाइते

कावासोतीको बालुवा डाँडामा बन्यो भ्यु टावर, कावासोतीको सम्पूर्ण दृष्य अवलोकन गर्न सकिने

अझै तीन दिन मौसम नखुल्ने; पानी र हिउँले चिसो बढ्ने



सम्बन्धित
Loading...
error: Content is protected !!