सरकारी जागिर अवकास पछिको जिन्दगी, माछापालनबाट बार्षिक २० लाख आम्दानी

५० बर्ष कटेपछि जेटिए तालिम लिएर माछापालन





रामकुमार श्रेष्ठ –
नवलपुर, ९ माघ । पूर्वी नवलपरासीका कावासोती १० मगरकोट निवासी ऋषिराम सिग्देलले जोशजागर उमेर र जवानी हुनजेल सरकारी जागिर गरेर देश र जनताको सेवा गरे ।

कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासी, इलाका प्रशासन कार्यालय कावासोती लगायतका विभिन्न सरकारी कार्यालयमा उनले झण्डै ३० बर्ष विताए । उमेरले ५० काटे पछि उनले जागिरे जीवनबाट अवकास लिए र लागे व्यवसायिक माछा पालन खेती तर्फ त्यो पनि तालिम नै लिए ।




अहिले उनले जिन्दगीभरी सरकारी जागिर गरेर जोडेको सम्पत्ति भन्दा माछा पालन गरेर जोडेको सम्पत्ति बढी छ ।

सिग्देलले कावासोतीमा माछा पालन गर्न थालेको १० बर्ष कटिसकेको छ । माछा पालनले उनलाई अवकाश पछिको जिन्दगी सदुपयोग पनि भएको छ भने राम्रो आम्दानीको माध्यम पनि भएको छ ।

कावासोती १६ डण्डा बजारबाट झन्डै पाँच किलोमिटरको भित्र गोछडा चोकमा ३ बिघा जग्गा भाडामा लिएर उनले माछा पोखरी गरेका हुन् ।

ऋषिराम सिग्देल भन्छन् – ‘मोटामोटी माछाबाट आम्दानीको ६० प्रतिशत नाफा हुन्छ ।’
चार वटा पोखरीमा उनको माछापालन छ । गएको बर्ष तिस लाखको माछा विक्री गरेको सिग्देलले २० लाखको हाराहारीमा नाफा कमाएका थिए ।

पोखरीमा माछाको भुरा राखिसकेपछि माछालाई दाना दिने, पानीमा अक्सिजनको मात्रा मिलाउने र माछा पोखरी कुर्ने सिग्देलको दैनिकी हो अहिले ।

सिग्देलले सरकारी जागिरको अवकास पछि माछा पालन र समाजसेवालाई पनि सँगसँगै अगाडि बढाएको थिए । सिग्देलले एक कार्यकाल स्थानीय एउटा सहकारीमा अध्यक्षको जिम्मेवारी पनि सम्हाले ।
सिग्देल भन्छन् – माछा पालनलाई खासै दुःख छैन । माछाको लागि वातावरण अनुकुल जमिन खोजेर माछा पालन सम्बन्धी तालिम लिएर माछा पालन गरे राम्रो आम्दानी गर्न सकिन्छ ।

उनको अनुभवमा माछा पालनमा धेरै परिश्रम पनि नपर्ने भएकोले फुर्सद निकालेर साथीभाई आफन्त भेटघाट गर्न र दैनिक केही समय समाजसेवा गर्न पनि सकिन्छ । जग्गा भाडामा लिएर ७ देखि १० लाख रुपैयाँमा माछा पालन गर्न सकिने उनको अनुभव छ ।

नेपाली माछा बजार प्रसस्तै

त्यसो त कावासोतीमै अहिले माछा पसलका थोक व्यापारीहरु भएका कारण पनि बजारको त्यति समस्या छैन । उनले उत्पादन गरेको माछा बेसी मात्रामा पोखरा र काठमाडौं निर्यात हुने गर्दछ ।

उनले ग्रास, सिलभर, कमन, रहु, नैनी जस्ता माछाहरु पालन गरेका छन् । माछाले पोखरी भित्रको लेउ (एक प्रकारको झार) रुचाउने र त्यसका लागि पोखरीमा गाईभैसीको गोबर राख्दिनु पर्ने भएकोले उनले माछा पोखरीसँगै ५ वटा भैसी र गाई पनि पालेका छन् जसले गर्दा थप आम्दानीको स्रोत पनि बनेको छ । सिग्देलले भने – गाई भैसीलाई जत्तिको स्याहार माछालाई गर्नु पर्दैन । माछापालन गरेर समाजसेवा गर्न पनि समय निस्कदो रहेछ त्यसैले कहिले काही सामाजिक संघसंस्थाको वैठकमा पनि पुग्न भ्याउछु ।’ त्यसो त माछा पालनमा ससाना कुरामा पनि ध्यान दिनु पर्ने उनी बताउँछन् ।

त्यसो त सिग्देलको घर र माछा पोखरीको दुरी ४÷५ किलो मिटरको फरकमा रहेको छ । सिग्देल अहिले घरमा भन्दा बढी माछा पोखरीमा भेटिन्छन् ।

अझै १० बर्ष सक्रिय रहने

 

उमेर ३ विस अर्थात ६ दशक पार गरिसकेका छन् सिग्देलले । साझ विहान, दिउँसो गाईभैसी र माछाको स्याहार गरेरै दिन वित्ने भएकोले पनि उनको शरिर अझै तन्दुरुस्त देखिन्छ । नेपालमा ६० कटेका कतिपय जेष्ठनागरिक घर भित्रै र ओछ्यानमै दैनिक कटाएका पनि भेटिन्छन् भने कतिपयलाई त ६० कटेपछि आफ्नै घरको आँगन पनि विरानो लाग्न थाल्छ तर, उनको जोशजाँगर देख्दा लाग्छ उनी अझै ४० कट्नै बाँकी छ ।
सिग्देलले भने – चोक, चिया पसलमा बसेर अर्कोको कुराकाट्नु भन्दा यही ठिक लाग्छ मलाई । आम्दानी पनि भयो । शरिरलाई कसरत पनि । म अझै १० बर्ष सक्रिय रहेर काम गर्न सक्छु ।

कृषि प्रतिको मोह

३० बर्षे जागिरे जिवनमा नेपालका विभिन्न जिल्लामा कार्यअनुभव संगालेका सिग्देलले जागिरबाट अवकास लिए पछि कृषि पेशामा समर्पित हुने निर्णय लिए । त्यसपछि उनी ५० बर्षको उमेरमा जेटिए पढ्न लागे ।

उनले आफ्नो अनुभव सुनाउँदै भने – मेरा छोराका उमेरकासँग पढ्नु पर्यो । मैले कत्तिपनि लाज मानिन । परीक्षामा युवाहरुले भन्दा मैले अब्बल नम्बर ल्याउँथे । सबैले बाबा भन्थे ।

१५ महिने जेटिए तालिम लिए त्यसपछि बाख्रा पालन गर्न थाले । बाख्राले उनलाई खासै फाइदा नदिएपछि उनी लागे घरदेखि केही पर खाली जमिनमा माछा पालन गर्न । उनले डेढ बर्षसम्म बाख्रा पाले र त्यसलाई चटक्कै छाडेर माछा पालनमा लागे ।

भारतीय माछा चुनौती

नेपाली बजारमा नेपाली माछाको राम्रो माग छ । स्वास्थ्यको दृष्टिकोणले पनि हप्ता १५ दिनमा कम्तिमा एक पटक माछा खानु राम्रो मानिन्छ ।

नेपाली माछाको मूल्य पनि नेपाली बजारमा राम्रै छ तर भारतबाट आउने माछा भने नेपाली माछा बजारको लागि घाँटीमा अड्किएको काँडा जस्तै हुने गरेको छ ।

नेपाली सिमाबजारमा नेपाली माछाको तुलनामा भारतीय माछाको बढी कारोबार हुने गरेको उनले अनुभव सुनाए । भारतबाट माछा नसड्ने विषादी प्रयोग गरेर नेपालमा वैथी भारतीय जस्ता माछा भित्रिन्छ जुन नेपाली माछाको तुलनामा निक्कै सस्तो हुन्छ । सिग्देलले भने – माछा त माछा हो कतिपय उपभोक्ताले जुन सस्तो त्यही रोज्छन् जसले गर्दा नेपाली माछाको बजारमा भारतीय माछा चुनौतीको रुपमा देखिएको छ ।

टाढाबाढा र चिनेजानेकालाई अनुदान

सिग्देलले ३० बर्ष सरकारी जागिर गरे त्यो पनि पुहँचवाला कार्यालयमा तथापि उनले माछा पालनमा अनुदान भने पाउन सकेका छैनन् । सरकारले सानादेखि ठूला व्यवसायिक किसानहरुलाई बर्षेनी अनुदान दिँदै आएपछि आफैले त्यसप्रति चाख पनि नदेखाएको र पाउँछु भन्ने पनि नलागेको उनले बताए ।

उनले भने – मलाई थाहा छ यो अनुदान चिनेजानेका र टाढाबाढाले पाउने चिज हो । राम्रै कमाई भईराखेकै छ किन मरिहत्ते गर्नु पर्यो र ।




सम्बन्धित
Loading...