ad

प्रतिरोध संस्कृति निर्माणका चुनौतीहरु विषय अन्तरक्रिया

30

जय दाहाल –
काठमाडौं÷२४औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समिति र इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा ‘प्रतिरोधी संस्कृति निर्माणका चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।




अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनुभएका माक्र्सवादी सौन्दर्यशास्त्रका ज्ञाता चैतन्य हुनुहुन्थ्यो । त्यसैगरी अन्य अतिथि वक्ताहरूमा माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईं, प्रा.डा. ताराकान्त पाण्ड्ेय, रोशन जनकपुरी र अम्बिका मुडभरी रहनुभएको थियो । गोष्ठीमा विचार व्यक्त गर्ने सबै वक्ताहरूले नेपालमा संसोधनवादी विचार हावी हुनु, पार्टीका नेता कार्यकर्ताहरूमा आलोचनात्मक चेत समाप्त हुँदै जानुु, आपूmैले देखेका सपनाहरूप्रति आफैँले घात गर्नु जस्ता कार्यले गर्दा जनतामा प्रतिरोधात्मक संस्कृतिको विकास हुन नसकेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै माक्र्सवादी दर्शन र सौन्दर्यचिन्तनका ज्ञाता चैतन्यले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक सहिदहरूबाट उर्जा र उत्प्रेरणा लिंदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नु भएको छ ।




उहाँले तत्कालीन प्रतिक्रियावादी सत्ताले काभ्रेका अनेकोटमा क्रुरतापुर्वक च्याङ्वा लामालगायतका सांस्कृतिक योद्धाहरूको हत्या गरेको संस्मरणमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको सन्दर्भको चर्चा गर्दै महान् जनयुद्ध संसदीय प्रतिक्रियावादी व्यवस्थाका विरुद्धको समग्र प्रतिरोध भएको बताउनु भयो ।
जनयुद्धमा भएको बलिदानले व्यवस्थाविरुद्धको प्रतिरोधी संस्कृति निर्माणमा महत्वपुर्ण योगदान पुर्याएको चर्चा गर्दै वर्तमान सामन्त, दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाका विरुद्ध नयाँ प्रतिरोधी सङ्घर्ष निर्माणमा जोड दिनुभयो । प्रतिरोधी संस्कृति प्रतिरोध सङ्घर्षसँग सम्बन्धित रहेको चर्चा गर्दै यो नयाँ जनवादी तथा वैज्ञानिक संस्कृतिसँग सम्बन्धित रहेको कुरा समेत स्पष्ट पार्नु भयो ।

उहाँले संस्कृति मानव निर्मित भएको र संस्कृति आम श्रमिक जनवर्गको हितमा आधारित हुने विचार व्यक्त गर्नुभयो । चैतन्यले कम्युनिस्ट क्रान्तिकारीहरूको सांस्कृतिक मूल्यका विषयमा आफ्नो विचार स्पष्ट पार्दै भन्नुभयो, ‘सर्वाेच्च सांस्कृतिक मुल्य भनेको सत्यम्, शिवम् सुन्दरम् हो । सत्यम भनेको असत्य, झुठका विरुद्ध सत्यको पक्षमा दृढतापुर्वक उभिनु हो । शिवम् भनेको हित हो । अर्थात् श्रमजीवी जनताको हित र कल्याणको पक्षमा उभ्याउनु । र, सुन्दरम् भनेको संगती(हार्माेनी) अर्थात् सबै अन्तरविरोधहरूको समाधान हो ।’

प्रतिक्रियावादी, संशोधनवादी, क्रान्तिकारी गरि तीन किसिमका संस्कृतिहरूको चर्चा गर्दै प्रतिक्रियावादी र संशोधनवादी संस्कृतिको सशक्त प्रतिरोधका बीचबाट नै क्रान्तिकारी संस्कृतिको निर्माण हुँदै जाने विचार पनि व्यक्त गर्नुभयो । माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकमा राजनीतिक प्रतिरोधसँग सांस्कृतिक प्रतिरोधलाई पनि सशक्त बनाएर लैजानुपर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा सौन्दर्य चिन्तक निनु चापागाईंले सांस्कृतिक आन्दोलन पनि वैचारिक आन्दोलन नै भएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्टहरूले पनि आचार व्यवहारमा कम्युनिस्ट सँस्कृतिलाई जीवन पद्धति बनाउन नसकेको बताउनु भयो । प्रभुत्वशाली संस्कृति र सत्तालाई धुलिसात बनाउने उद्देश्य नै प्रतिरोधी संस्कृतिको उद्देश्य हुनुपर्ने धारणा राख्दै उहाँले सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकतामाथि जोड दिनु भयो ।

अर्का वक्ता प्रा.डा. ताराकान्त पाण्डेयले उपभोक्तावादी संस्कृतिले जनस्तर र सामाजिक स्तरमा समेत जरा गाड्न पुगेकोले कम्युनिस्ट क्रान्तिकारीहरूले त्यस्तो प्रतिक्रियावादी संस्कृतिको सशक्त प्रतिरोधका निम्ति आलोचनात्मक चेतलाई बढाउनु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी मार्क्सवादी लेखक रोशन जनकपुरीले जातीय, क्षेत्रीय, र लैङ्गिक मुद्दाहरूले वर्गीय मुद्दालाई ओझेलमा पार्दै लगेको चर्चा गर्दै वर्गीय मुद्दालाई प्रधान बनाएर प्रतिरोधी सङ्घर्ष उठान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी महिला नेतृ अम्बिका मुड्भरीले वर्तमा सत्ता र व्यवस्थाले महिलामाथि लादेको बहुआयामिक शोषण र उत्पीडनका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षको आवश्यकता रहेको चर्चा गर्दै लैङ्गिक उत्पीडन पनि वर्गीय उत्पीडनको विस्तारित रूप भएकोले वर्ग सङ्घर्ष र प्रतिरोध सङ्घर्षलाई एकसाथ अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताहरूले राखेको विचारमाथि सहभागीहरूले केही जिज्ञासा र सुझाबहरू समेत राखेका थिए । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी र सञ्चालन माहासङ्घका महासचिव तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले गर्नुभएको थियो ।

सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भबारे बताउँदै आयोजक संस्थाका महासचिव हिरामणि दुःखीले भने– ‘२०५५ साल चैत ५ गते सामना परिवारका कलाकारहरू च्याङ्वा लामाको नेतृत्वमा काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रमद्वारा जनतामा वैचारिक जागरण ल्याउन हिँडेका कलाकारहरूलाई सेल्टर लिई बसेको घरमा प्रहरीहरूले घर घेरा हाली आगो लगाएर सामूहिक हत्या गरेको थियो । घरमा आगो लगाएपछि भाग्दै गरेका निहत्था कलाकारहरूलाई गोली हानी हत्या गरिएको थियो । उक्त घटनामा च्याङ्वा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, सुभद्रा सापकोटा, चिनिमायाँ लामा, डम्बर श्रेष्ठको हत्या गरिएको थियो । यो शृङ्खला यतिमै रोकिएन । जनयुद्धको राप र तापबाट अत्तालिएको फासिवादी सत्ताले देशैभरी सामूहिक हत्याकाण्ड मञ्चन गर्दै गयो ।’ दुःखीले अगाडि भने– ‘यसैगरी रोल्पाको भावाङ, सुकिदह, हार्जङमा पनि कलाकारहरूले सामूहिक हत्याको शिकार हुन पुगेका थिए । त्यस्तै डुङ्गला, मुठभरा, जुफाल, लहँमा पनि कलाकारहरूको सामूहिक हत्या गरिएको थियो ।’ यी सबै सामूहिक हत्याकाण्डहरूको सम्झना र देशैभरी जनयुद्धका क्रममा सहिद भएका सांस्कृतिक योद्धाहरुको सम्मानमा अखिल नेपाल जनसांस्कृति महासङ्घले २०६० सालदेखि चैत ५ गतेलाई सबै हत्याकाण्डहरूको सामूहिक प्रतिनिधित्व हुनेगरी ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउने गरिएको महासचिव हिरामणि दुःखीले बताए ।

 



सम्बन्धित
Loading...
error: Content is protected !!