हर्क साम्पाङ जसले लाठी बर्षाउथे, उसैले गरे फूल र अबिरको बर्षा





बिहानै दुईतिर पानीले भरिएको तामाको गाग्री फूलले सजाइएको थियो ।

 

निर्वाचित हुनुअघि जनताको माग लिएर जाँदा साम्पाङलाई नगरपालिकामा छिर्न नदिन फलामे प्रवेशद्वार बन्द गरिएको थियो । उनी प्रवेशद्वार नाघेर जान खोजेका थिए । धरानका तत्कालीन प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई सम्बोधन गर्दै बाहिर निस्केर हिसाबकिताब देखाउन माग पनि गरेका थिए । त्यसबेला साम्पाङमाथि लाठीचार्जसमेत भएको थियो । तर यसपटक भने लाठीचार्जको ठाँउमा स्वागतसहितको फूल र अविरको वर्षा भयो ।

 




नगरपालिकाका कर्मचारीको स्वागतलाई सहर्ष स्वीकार गर्दै फूलमाला र गुच्छा लिएर अगाडि बढेका प्रमुख साम्पाङलाई नगरप्रहरीले सुरक्षा दिँदै स्वागतका साथ स्यालुट हाने । कर्मचारी लाम लागेर फूलमाला र अबिर पालैपालो लगाइदिए । उनलाई स्वागत गर्न कर्मचारीहरू ‘तछाड मछाड’ गरेका थिए । स्वागत गरिसकेपछि उनीहरूले नै नवनिर्वाचित साम्पाङलाई ‘हजुर मेयर साप’ भन्दै कार्यकक्षसम्म पुर्‍याए ।

 

स्वागतको लाममा धरान उपमहानगरपालिकामा केही महिनाअघि खानेपानी आयोजनाको विषयमा विवाद हुँदा साम्पाङबाट पेचिलो गाली खाने अधिकृत र कर्मचारीहरू पनि थिए । साम्पाङले सबै नभए पनि केही कर्मचारी भ्रष्टाचारी भएको आरोप पनि लगाएका थिए । दलीय उम्मेदवार नभएर स्वतन्त्र र नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग सिधा वादविवादमा उत्रेका अभियन्ता स्थानीय तहको चुनावमा एकाएक जनमत पाएर जितेपछि प्रमुख भएर आउदा केही कर्मचारीहरू भने सशंकित देखिएका थिए । केहीचाहीँ ‘हामीलाई यस्तै प्रमुख चाहिन्छ’ भन्नेहरू पनि थिए ।

 

साम्पाङले औपचारिक रुपमा पदभार ग्रहण गरेपछि पहिलो पटक धरानमा वैज्ञानिक कर प्रणाली लागू गर्नेगरी एक अध्ययन कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरे । कार्यदलले अध्ययन गरेर सुझाव पेश गर्ने छन् । कार्यदलले धरानको कर वैज्ञानिक भए/नभएको, आयस्रोतहरूको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिने छ । सुझाव कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्र विक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख छन् । धरानमा ‘कर बढाएर जनताको ढाड सेक्ने काम गरेको’ भनेर व्यापक जनगुनासो सुनिँदै आएको छ ।

 

निर्णय पुस्तिकामा हस्ताक्षर गरे पनि सञ्चारकर्मीसँग करिब १० मिनेट आफ्नो धारणा राखेका थिए । उनले आफू स्वतन्त्र उम्मेदवारको रुपमा जितेर आए पनि सबै राजनीतिक दल, संघसंस्था र नागरिक समाजकै सल्लाह सुझाव र सहकार्य समन्वय गरेर धरानको विकास निमार्ण गर्ने, उन्नत सहर बनाउने बताए ।

 

उनले भने, ‘अहिले विभिन्न समस्या र चुनौतीहरू पनि बढिरहेको छ । हामी मिलेर नै विभिन्न समस्या र चुनौतीको सामना गर्ने छौं । जनताको विश्वास कायम गर्न मैले धेरै काम गर्नुपर्ने छ । यो चुनौतीपूर्ण छ तर हामी सबैको सहकार्यबिना म एक्लैले गर्न सक्दिनँ ।’ उनले खानेपानी समस्या तत्काल समाधान गर्न उत्पादन बढाउन र स्रोत बढाउन लिकेज रोक्ने र मर्मत सम्भारको काम सुरु गर्ने बताए ।

उनले सेवालाई चुस्तदुरुस्त बनाएर धरानमा ‘स्थानीय सरकार छ है’ भन्ने अनुभूति दिलाउन कुनै कसर बाँकी नराख्ने बताए । उनले दलीय कार्यकर्ता र दलीय उम्मेदवारलाई मतदान गर्ने नगरवासीलाई सम्बोधन गर्दै भने, ‘अहिले जनताले अन्य जनप्रतिनिधिहरू पनि असल व्यक्तिलाई नै चुनेर जिताएका छन् । यहाँ आउने असल नै छन् । हामी जुनुसुकै दलबाट वा स्वतन्त्रबाट आए पनि मिलेर काम गर्ने भएकाले धरानको विकास रोक्न कसैले सक्दैन ।’

ekantipur.com

 




सम्बन्धित
Loading...