रामग्रामको कार्यपालिकामा लौरो चिन्ह भएका स्वतन्त्र उमेदवार विजयी
हरि शर्मा –
परासी, १८ जेठ – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा लौरो चुनाव चिन्ह भएका स्वतन्त्र उमेदवार अमृत सिंह जिसी विजयी भएका छन् ।
महिला सदस्यबाट ५ र दलित वा अल्पसंख्यकबाट ३ गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । जसमा जनता समाजवादी पार्टी(जसपा)ले ४, एमालेले २, राप्रपा र स्वतन्त्रले १/१ सदस्यमा विजयी भएको सहायक मुख्य निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिए ।
दलित वा अल्पसंख्यकबाट उमेदवारी दिएका स्वतन्त्र उमेदवार जिसीले राजनीतिक दलका उमेदवारलाई पराजितगर्दै विजयी भएका हुन् । जिसीले जसपा, नेपाली कांग्रेस र अर्का स्वतन्त्र उमेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । ३ पदका लागि २ स्वतन्त्रसहित ८ जनाको उमेदवारी परेको थियो । विजयी हुने अन्य २ जनामा जसपाका कमलेश्वर ठाकुर र राप्रपाका सुरेश पासवान छन् ।
निर्वाचनमा दलहरुले गठबन्धन गरेर उमेदवारी दिएका थिए । तर जसपामा भने दुई गुटमा विभाजन भएको थियो । जसपा विभाजनको फाइदा उठाउँदै स्वतन्त्र उमेदवार जिसीले बाजी मारेका हुन् । जसपाको एक समुहले कांग्रेस र अर्को समूहले एमालेसँग गठबन्धन गरेको थियो ।
राप्रपासहित एमालेसँग गठबन्धन गरेको जिल्ला अध्यक्ष धरेन्द्र यादवको गुट विजयी भएको हो । कांग्रेससँग गठबन्धन गरेका जसपाका केन्द्रीय सदस्य एंव पूर्वरक्षा राज्यमन्त्री रामबच्चन यादवको गुट पराजित भएको हो ।
त्यसैगरी महिला सदस्यतर्फ भएको निर्वाचनमा ७ जनाको उमेदवारी परेको थियो । निर्वाचनबाट जसपाका बच्ची कहाँर, भगवती कुमारी चौधरी र सिमिर्ती देवी कुर्मी विजयी भएका छन् । एमालेबाट सीमामैया चौधरी र नानु कुमारी खड्का विजयी भएका छन् ।
९२ जना मतदाता रहेको नगर कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव जितेका २८ जनप्रतिनिधि छन् । जसपा र एमालेबाट चुनाव जितेका २५/२५ जनप्रतिनिधि, राप्रपाबाट १३ र स्वतन्त्रबाट चुनाव जितेका १ जना जनप्रतिनिधि छन् । ९१ मत खसेकोमा २ मत बदर भएको थियो ।