नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलाउने व्यक्ति पक्राउ





नवलपरासी पश्चिम जिल्ला अदालतको सडकमा गोली चलाउने व्यक्ति पक्राउ परेका छन्।

 

गोली चलाउने व्यक्तिलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

 




सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम सडकमा गोली चलेको थियो।

 

पेस्तोलले गोली चलाएको आरोपमा प्रहरीले सरावल गाउँपालिका-४ मंगलापुर बस्ने २८ वर्षीय हंशराज यादवलाई पक्राउ गरेको हो।

 

उनलाई प्रहरीले मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका-९ बनकट्टीस्थित आफन्तको घरबाट पक्राउ गरेको कँडेलले बताए। उनीबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल बरामद गरेको छ।

 

त्यो पेस्तोलमा लाग्ने एक थान म्यागजिन र एक राउन्ड गोली प्रहरीले बरामद गरेको छ।

 

प्रहरी उपरीक्षक कँडेलका अनुसार उनले आफ्नै काकीलाई लक्षित गरी गोली प्रहार गरेका थिए।

 

सोमबार दिउँसो साढे ३ बजे रामग्राम-५ अदालत सडकमा उनले आफ्नै काकी ३० वर्षीया रोशनी यादवलाई लक्षित गर्दै गोली प्रहार गरेका थिए।

 

उनीहरूबीच जग्गा विवाद थियो। जसको लागि दुबै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको थियो।

 

तर पछि अदालत बाहिर  यादवले काकीमाथि लक्षित गरी गोली प्रहार गरेका थिए। सो गोली भने कसैलाई पनि लागेको थिएन।

 

घटनाबारे थाहा पाएपछि प्रहरी उपरीक्षक कँडेलको कमान्डमा प्रहरीको टोली खटिएको थियो। सो टोलीले यादवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

 

उनीविरूद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजना मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

 




सम्बन्धित
Loading...