कोरिया पुर्‍याइदिने भन्दै ठगिएको साढे सात लाख असुल गर्न हारगुहार


 




कीर्तिपुरस्थित भ्याली कन्सल्टेन्सीले सोलुखुम्बु नेलेका बाबुराम विकलाई विद्यार्थी भिजामा कोरिया पठाइदिने भन्दै साढे सात लाख रुपैयाँ ठगी गरेको पाइएको छ । विद्यार्थी भिसाको जुन अफर आयो त्यसैमा पठाइदिने भन्दै एकमुष्ट ७ लाख ५० हजार असुलेर ठगी गरेको हो । गाउँका आफन्त र साहुबाट ऋण लिएको रुपैयाँ असुल गर्न काठमाडौंमा बाबुराम हारगुहार गरिरहेका छन् ।

 




बाबुरामले गत वर्ष वैशाखमा कोरियाका लागि कन्सल्टेन्सीलाई सो रकम एकमुष्ट बुझाएका थिए । कोरिया नपठाएपछि बाबुरामले कन्सल्टेन्सीलाई आफ्नो रुपैयाँ रिफन्ट गर्न पटक–पटक गुहार मागे । त्यसपछि तीन महिनापहिले कन्सल्टेन्सीका धीरेन कुमार राईले साढे सात लाख रुपैयाँको बाउन्स चेक दिए ।

 

बाबुरामका अनुसार कन्सल्टेन्सीले विद्यार्थी भिसामा कोरिया पठाइदिने आश्वासन दिएर साढे सात लाख रुपैयाँ ठगी गरेको छ । एक वर्ष पहिले बुझाएको रुपैयाँ दिन आनाकानी गरिरहेका धीरेनले पटक–पटक पैसा दिने आश्वासन दिँदै आएको बाबुरामले बताए । “विद्यार्थी भिसामा कोरिया पठाइदिने भनेपछि साढे सात लाख रुपैयाँको चेक दिएँ । एक वर्ष बितिसक्यो कन्सल्टेन्सीले कोरिया पठाएन । तीन महिनाअघिदेखि कन्सल्टेन्सीमा हारगुहार गरिरहेको छु । आश्वासन मात्रै दिन्छ पैसा दिँदैन,” उनले भने ।

 

बाुबुरामलाई गाउँका आफन्त र साहुले साँवाब्याजसहित रुपैयाँ मागिरहेका छन् । “गाउँमा साहु र आफन्तहरूले साँवाब्याज मागिरहेका छन् । तँ उडेको छैनस्, पैसा लिएको वर्ष दिन बितिसक्यो । कहिले दिन्छस् भनिरहेका छन्,” उनले भने । बाबुराम कन्सल्टेन्सीमा आफ्नो पैसा असुल गर्न भिनाजु, अंकल, दाइ र साथीलाई लिएर कैयाँैपटक पुगिसके । एक महिना पहिले बाबुरामलाई एक साताभित्र पैसा फिर्ता दिने आश्वासन धीरेनले दिएका थिए । बाबुरामले एक साताको साटो १० दिनमा दिनु भन्दै म्याद थप गरिदिएँ ।

 

अहिले महिना दिन बितिसक्दा पनि बाबुरामले रुपैयाँ फिर्ता पाएका छैनन् । बाबुराम भन्छन्– “रुपैयाँ दिन्छु भनेर जहिले पनि आश्वासन मात्रै दिन्छ । साहुले भने सावाँ–ब्याजसहित पैसा मागिरहेका छन् । कहाँबाट ल्याएर तिरौँ ।” श्रमिक भिसामा कोरिया जानका लागि बाबुरामले तीन वर्ष पहिले कोरियन भाषा अध्ययन गरेका थिए । परीक्षामा पास भएका उनलाई स्किल टेस्टमा फेल गराइयो । श्रमिकका रूपमा कोरिया जान सकिने अवस्था नभएपछि सो रकमसहित कन्सल्टेन्सीमा पुगेका थिए ।

 

धीरेन आफ्नो मात्रै जिम्मेवारी नभएको भन्दै पन्छिने प्रयास गरिरहेका छन् । धीरेनले भने, “मैले प्रतिनिधित्व गरेर गएको पैसा हो । त्यसैले, समस्या भएको हो । मैले तपाईंलाई बाउन्स चेक दिनु गल्ती गरेँ । तपाईहरूले मलाई मात्रै भन्नुहुन्छ म आफैँ पनि पीडित हुँ । मसँग पैसा छैन त कसरी म्यानेज गरूँ ? कन्सल्टेन्सीको प्रतिनिधित्वमा उहाँको पैसा आएको छ ।”

 

धीरेनले प्रहरीकहाँ उजुरी नगर्न भन्दै किस्ताबन्दीमा पैसा फिर्ता दिनेसमेत आश्वासन दिएका छन् । कन्सल्टेन्सी प्रशासन कार्यालयलाई प्रेसर दिएर पैसा असुल गर्नुपर्ने धीरेनले दाबी गरेका छन् । धीरेनले आफूबीचमा परेको र पैसा असुल गर्न पहल गरिरहेको बताए । “हाम्रो यता पहल भइरहेको छ । अब क्लास चल्छ त्यहाँबाट पैसा म्यानेज हुन्छ,” उनले भने ।

 

बाबुरामले महानगरिय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका थिए । तर, धीरेनले शुक्रबारसम्म जसरी भए पनि रुपैयाँ दिने भनेपछि उजुरी दिएका छैनन् ।




सम्बन्धित
Loading...