नवलपरासीका मिटर ब्याज पीडितद्वारा माइतीघरमा विराेध प्रदर्शन


 




मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन थालेका छन् । नवलपरासीका दाजुभाइ जगदिश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा ऋण दिई २ लाख रुपैयाँको १५ लाखसम्म असुलेको भन्दै पीडित पक्षले माइतीघरमा आन्दोलन थालेका हुन् ।

 

विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएको र ६ वर्ष विदेश बस्दा कमाएको १२ लाख दिँदा पनि चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडित राजकुमारले बताए । भएको जमिनसमेत बेचेर पैसा तिरेको, अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आउनुपरेको उनको भनाइ छ ।

 




उनले भने ‘मलाई विदेश पठाउनको लागि बुबाले साहु महाजनसँग १ लाख ५० हजार रुपैयाा लिनुभएको थियो । विदेशमा भएको ६ वर्षको कमाई १२ लाख जति दिइसको । तर अझै पूरा भएको छैन, हामीलाई न्याय चाहियो ।’

 

त्यस्तै अर्का मिटर ब्याज पीडित जयप्रकाश कुर्मीले छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपौयाँ ऋण लिएको बताए । बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको उनले बताए ।

 

‘५ लाख ५ हजार रुपैयाँ दिइसकेँ, अहिले ८ लाख मागेका छन्’ उनले भने ‘जग्गा बचेर भएपनि पैसा दिन दबाब दिइरहेका छन् ।’ अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भएपछि तमसुक माग्दा समेत नदिएको बताए । गुप्ताले यी अपराधीलाई कारबाही गरेर मात्रै फर्किने बताए ।

 

आन्दोलनमा आएका केहीले हजुरबुबाले लिएको ऋण नाति पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरी भूमिहीन भएको बताएका छन् । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरु खबदार, मिटर ब्याज लिनेलाई कारबाही गर् जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

 

 




सम्बन्धित
Loading...