ad

निवासमै पुगेर माधबलाई रामकुमारीले भनिन्- ‘मेरा लागि तपाई मरेतुल्य बराबर हुनुभयो’

55

काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन ।




प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले असहमति प्रकट गरेका हुन् ।

आफ्नो निवासमा पुगेका सबै मन्त्रीलाई नेपालले ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन् ।




‘हामीलाई किन हटाउनु पर्‍यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका छन,’ नेपाल समक्ष मन्त्री झाक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो ।

अध्यक्ष नेपाल र मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएको स्रोतले जानकारी दियो ।

उता, दुई जना सांसदसहित अध्यक्ष नेपालको निवास पुगेका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए ।

‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रिमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ उनले भने । आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।

 



सम्बन्धित
Loading...
error: Content is protected !!