ad

पर्यटक आकर्षित गर्दै थारु सांस्कृतिक सङ्ग्रहालय

228




विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज, राप्ती तथा नारायणी नदीको प्राकृतिक सौन्दर्यको आनन्द बटुल्न मेघौली जाने पर्यटकलाई त्यहाँको सङ्ग्रहालयले आकर्षित गर्ने गरेको छ । थारुजातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने सङ्ग्रहालयमा पर्यटक आकर्षित भएका हुन् ।

 

विसं ०६६ सालदेखि मेघौली विमानस्थल परिसरमा आदिवासी थारु समुदायको परम्परा र संस्कृति झल्कने थारु सांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा छ । ‘यहाँ आउने पाहुनालाई देखाउने ठाउँ भएको छ’, मेघौली थारु सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले भने, ‘सङ्ग्रहालय हाम्रो चिनारीसँग पनि जोडिएको छ ।’ सङ्ग्रहालयमा परम्परागत र ऐतिहासिक मह¤वका सामग्री सङ्ग्रहित गरिएको छ ।

 




सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, थारुजातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरूवा, हँसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्बिर राखिएको छ ।

 

सङ्ग्रहालयमा थारु समुदायको जन्मदेखि मृत्युसम्मको संस्कृतिदेखि थारु समुदायले परम्परादेखि प्रयोग गर्दै आइरहेका विभिन्न हातहतियार, पोसाक, भाँडाकुँडा तथा सङ्ग्रहालयको भित्री भित्ताहरुमा थारु समुदायहरुको परम्परा, संस्कृति, रीतिरिवाजलाई चित्रमा देखाइएको उनले बताए ।

 

मेघौली थारु बाहुल्य क्षेत्र भएकाले थारु पहिचान दिलाउने सामग्री बढी छन् । थारुजातिको उद्गमस्थलका रुपमा रहेको चितवनलाई थारुजातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु सङ्ग्रहालय स्थापना गरिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष मायाराम चौधरी बताउँछन् । सङ्ग्रहालय १० कट्ठामा फैलिएको छ ।

 

थारुजातिको कला, संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारुजातिको जीवनशैली अध्ययन गर्नका लागि यहाँ थारु सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको चौधरी बताउँछन् । भरतपुर–२७, मेघौलीमा स्थापना भएको सङ्ग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ ।

 

आदिवासी थारुहरु परम्परादेखि नै जंगलको छेउछाउमा बस्ने भएकाले त्यसैअनुसारका हातहतियारहरुका साथै थारु संस्कृति झल्कने खालका तबला, डुँकी, हार्मोनियमजस्ता वाद्यवादनका सामग्रीसमेत राखिएको छ । महिलाहरुले लगाउने माठा, पिटा, खुट्टामा लगाउने गुहुर्ला, नाकमा लगाउने नत्थीलगायतका प्राचीन गरगहना पनि देख्न पाइन्छ । थारुहरुले प्रयोग गर्ने गरेको काठे इनार, काठे बैलगाडा, ढिकी, परेवाका खोर तथा प्राचीन तोरी पेल्ने कोल बनाउने योजना रहेको अध्यक्ष चौधरीले बनाए ।

 

मेघौलीको पर्यटनलाई टेवा दिनका लागि यो सङ्ग्रहालयले निकै मद्दत पु¥याउन सक्छ । तर, हाल यो सङ्ग्रहालयले प्रचारप्रसारको अभावमा पर्यटकलाई आकर्षण गर्न सकेको छैन । भरतपुर महानगरअन्तर्गत पर्ने पश्चिम चितवनका १२ वडामा गरी ४० मौजा, करिब ४ हजार घरधुरी तथा ४० हजार जनसंख्या थारुजातिको बसोवास रहेको क्षेत्र मानिए पनि थारु सङ्ग्रहालय पर्यटकको अभावमा सुनसान देखिन थालेको बताउँछन्, थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष चौधरी ।

 

मेघौलीका होटल सञ्चालकहरुले यस सङ्ग्रहालयका बारेमा चासो राखेर होटलमा आउने पाहुनालाई जानकारी दिएर प्रचारप्रसारमा सहयोग गर्नुपर्ने उनी बताउँछन् । सङ्ग्रहालय परिसरमा संसद् विकास कोषबाट सांसद्हरुको सहयोगमा सभाहल बनाइएको बताउँदै अध्यक्ष चौधरीले सङ्ग्रहालय निर्माणको क्रममै रहेको र पर्खाल र गेट निर्माणमा बजेटको अभावमा अवरोध हुँदै गएको बताए ।

 

सङ्ग्रहालयको हेरालुको रुपमा खटिएका सत्यनारायण चौधरी सङ्ग्रहालयको अवलोकन गर्न टाढाका नआउने र नजिककाले वास्ता नगर्ने अवस्थामा रहेको बताउँछन् । मेघौलीका बाराही, सिराइचुलीजस्ता होटलका पाहुनाहरु बेलाबेलामा अवलोकन गर्न आए पनि आफू फुर्सदिलो हुने बताउँछन्, सत्यनारायण । स्वदेशी पर्यटकसँग १० रूपैयाँ र विदेशी पर्यटकसँग १०० रूपैयाँ शुल्क कायम गरिएको उनले बताए ।

 



सम्बन्धित
Loading...
error: Content is protected !!