कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस अबदेखी क्युएए सर्टिफाईड





नवलपुरको कावासोती नगरपालिकामा रहेको जिल्लाकै पुरानो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्राप्त गरेको छ ।

 

क्याम्पसले शुक्रबार  पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख गुरु प्रसाद अधिकारीले लामो समयको प्रयासपछि क्याम्पसले क्युएए प्राप्त गरेको बताउनुभयो । उहाँले सन् २०२० मा नै क्याम्पसले क्युएए प्राप्त गर्नुपर्नेमा कोभिड संक्रमण तथा विभिन्न प्राविधिक कारणले डेढ वर्ष ढिला गरेर क्यूएए प्राप्त गरेको जानकारी गराउनुभयो ।

 




क्युएए प्राप्त गर्न नसक्दा धेरै जनाबाट अनुत्तरित बन्नु पर्दा दुःख लाग्ने गरेकोमा अब भने आफूहरू निकै खुसी भएको र यो कावासोती नगरवासी तथा विद्यार्थी अभिभावकका लागि समेत खुसीको कुरा भएको उहाँले बताउनुभयो । अब सरोकारवालाहरूको छलफल समन्वयमा क्याम्पसले थप नयाँ विषयहरू अध्यापन गर्ने प्रकृया अघि बढाउने सोचमा रहेको उहाँले बताउनुभयो ।

 

पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोख्रेलले नेपालभरि कुमारवर्ती बहुमुखी क्याम्पसले क्युएए प्राप्त गर्यो भनेर सन्देश दिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्रक्रियामा सहभागी भै सबै चरण पार गरि शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिस अनुसार क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्राप्त भएको क्याम्पस पोख्रेलले बताउनुभयो ।

उहाँले क्यूएए प्राप्तिसँगै अब क्याम्पसलाई थप चुनौती समेत थपिएको बताउनुभयो । प्राप्त उपलब्धिलाई जोगाइराख्न अब क्याम्पस अझै सशक्त ढंगबाट अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो । अब क्याम्पसमा नयाँ विषय गर्ने बाटो खुलेको र सँगै जिम्मेवारी समेत थप भएको उहाँले बताउनुभयो । क्याम्पसले छिमेकी क्याम्पसहरूमा पढाई हुने विषयभन्दा नयाँ खालका प्राविधिक विषय थप गर्ने योजना रहेको जानकारी दिनुभयो । सिभिल इन्जिनियर, बी एल बी लगायतका नयाँ विषय थप गर्ने सोच क्याम्पसले बनाएको उहाँले बताउनुभयो ।

यहाँ रहेका छिमेकी क्याम्पसलाई समेत असर नपुग्ने गरेर सबै क्याम्पसको हित हुने गरेर कुमारवर्ती नयाँ विषय थप गर्ने कुनै प्रकारको प्रतिस्पर्धा नगर्ने उहाँको भनाई थियो ।कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरू मोहदत्त अधिकारी , श्याम बस्ताकोटी लगायत शिक्षक विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

 

क्याम्पसलाई यही असार ७ गते क्युएए प्राप्त गरेको सूचना आएको थियो । अब यही असार १२ गते विश्वविद्यालय अनुदान आयोगमा आयोजित कार्यक्रममा क्यूएए प्रमाणपत्र प्रदान गरिने पोख्रेलले जानकारी दिनुभयो ।
क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ ।

 




सम्बन्धित
Loading...