नेशनल सोलार पावरको विजुली राष्ट्रिय ग्रिडमा थपिदै





घनश्याम बगाले –

नवलपुर । मुलुक उर्जा क्षेत्रको विकासमा अगाडि सर्दै गर्दा नेशनल सोलार पावर कम्पनीले आफ्नो ५ मेघावाट विजुली राष्टिय प्रशारण लाईनमा जोड्ने तयारी गरेको छ ।




कम्पनीले विद्युत उत्पादन स्थल पश्चिम नवलपरासीको प्रतापुर १० रेवरेता देखि गण्डक पावर हाउस स्थित नेशनल ग्रिड सम्मको करिव ३ दशमलव ५ किमी दुरीको प्रसारण लाईनमा परीक्षण कार्य आरम्भ गरेको छ ।

परीक्षणका क्रममा कम्पनीले ३३ केभी क्षमताको विद्युत प्रशारण लाईनका खम्वा वरपर सर्वसाधरणलाई नजान र पोलमा नछुन समेत सूचित गरेको छ ।

सोलार विद्युत उत्पादनका लागि ११ हजार २ सय १८ प्यानल जडित यस कम्पनीले ५ मेघावाट विद्युत उत्पादन गरी नेशनल ग्रिडमा जोड्न लागेको कम्पनीका नेपाल परियोजना प्रमुख प्रशान्त सिंहले बताए ।

सिंहका अनुसार आफ्नो कम्पनीबाट उत्पादित सोलार विद्युतले ग्रिन ईनर्जी कार्यक्रममा टेवा दिनुका साथै प्रदुषण मुक्त वातावरणमा नेपालको उर्जा अभावलाई टार्न सहयोग पुर्याउने छ ।

पश्चिम गण्डक नहर स्थित सुरजपुरामा रहेको १५ मेघावाटको गण्डक पावर हाउसले मुस्किलले ४ मेघावाट मात्र विद्युत उत्पादन गरि रहेका बेला यही क्षेत्रबाट सोलार पावरको ५ मेघावाट विद्युत राष्टिय प्रसारणमा थपिने भएको हो ।

चौविसै घण्टा उत्पादनमा रहने यस कम्पनीबाट उत्पादित बिजुली ग्रिडमा जोडिदा सिमावर्ती क्षेत्रका कतिपय गाउं बस्ती र उद्योगहरुमा बेला बेलामा लाईन जाने समस्याबाट केही हदसम्म भए पनि राहत मिल्ने स्थानीयले आशा लिएकाछन् ।

प्राप्त जानकारी अनुसार नेपालमा साना ठूला गरी २२ वटा कम्पनीले सौर्य शक्तिमा आधारितभै विद्युत उत्पादनका लागि अनुमति लिएका छन् ।

यसरी अनुमति लिएका सोलार कम्पनीले समयमै आफ्ना परियोजना संचालन गरी उत्पादन दिने हो भने थप १ सय ३७ दशमलव ५६ मेघावाट विद्युत राज्यले प्राप्त गर्ने देखिन्छ ।

 




सम्बन्धित
Loading...