बाबा जन्मदिनको शुभकामना भन्ने रहर थियो तर नचाहेर नै हार्दिक श्रद्धाञ्जली भन्नु पर्यो
प्यारो बाबा,
हजुर जहाँ रहेपनि सदा सदा सम्झना अनि उति नै माया बाबा, हजुरले हामीलाई छाडेर गएको पनि दुई महिना पुरा भएछ । हजुर जहाँ भए पनि हजुरको आत्माले शान्ति पाओस् बाबा । मेरी आमा र तपाईंका सन्तान हामी धेरै दुखी छौं । यति छिट्टै हामीलाई छाडेर जानु हुन्छ भन्ने कल्पना पनि गरेकी थिइन हरपल तपाईंको अभाव र यादले सताइरहन्छ बाबा ।
बाबा, हाम्रो लागि गरेको ति कैयौं दुख र संघर्षहरुलाई चटक्कै भुलेर यति छोटाे समयमा नै हामीबाट टाढा हुनुभयो सायद भगवानको लेखा त्यति नै दिएको होला । कौतुहलता लाग्छ, हजुरको मनोभावना र चाहनालाई हामीले बुझ्न सकेनौं होला । त्यसको खातिर क्षमा चाहान्छौ बाबा । मन थियो ढिलै भए पनि तपाईंको खुसी र सपनाहरू पुरा गरुँ तर जिज्ञासा राख्दा राख्दै छोटाे समयको निर्णयमा पुग्नु भयो बाबा ।
बाबा शब्दमा यति धेरै तागत छ जुन शब्द हामीले किन्न सक्दैनौं । हरेक यात्रामा आट उत्साह बाबाबाट नै मिल्ने गर्दथ्यो तर आज ति जोस जागर सेलाएर गएको छ । जुन दिन देखी तपाईंले छाडेर जानु भयो आमाको हसिलो मुहार उदासिएको छ आमालाई मायाको अभाव त नगराउने भन्छौ तर तपाईंसंग हुँदाको जति माया र खुसी कहाँ मिल्दो रहेछ र बाबा । हजुरसंग हुँदाको ति रंगिन पहिरनमा सजिएकी मेरी आमा अहिले उदासिएको मुहारसंगै उजाडिएको भेषमा बस्नु परेको छ बाबा ।
एउटी नारीलाई श्रीमान बिनाको एकल महिला बन्नुको पीडा छुट्टै छ । मेरी आमालाई र बुबा बिनाको टुहुरा छोराछोरी बन्नुको पीडा छुट्टै छ । हामीलाई जुनसुकै यात्रामा पनि हरेक कदमहरु अल्झिरहेको महशुस गर्दछु । तपाई विनाको घर चारैतिर भताभुङ्ग भएको देख्दछु बाबा ।
बाबा शब्द न त लेखेर नै सकिन्छ न त वर्णन गरेर नै तपाईंको यादले छटपटिएको यो मनलाई बुझाउन नसकी केहि शब्दहरु कोरेर शान्त पार्ने कोसिस मात्र गरेकी हु । बाबा आज हजुरको जन्मदिन……विगतका दिनहरुमा हयाप्पि वर्थ दे बाबा भन्दथे तर अब ति दिन गएछन् । न त फर्केर नै आउने, न त फर्काउन नै मिल्ने । बाबा जन्मदिनको शुभकामना भन्ने रहर थियो तर नचाहेर नै हार्दिक श्रद्धाञ्जली भन्नु पर्यो ।
– सिमाना खाती –