कुस्ती महिला तर्फ सुदुर पश्चिम र सेनाले जिते ५÷५ स्वर्ण, पुरुष कुस्तिमा सशस्त्रलाई ४ स्वर्ण
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पूर्वी नवलपरासीको कावासोतीमा भएको कुस्ती प्रतियोगितामा सुदुर पश्चिम प्रदेश (प्रदेश ७) ले ५ वटा स्वर्ण पदक जितेको छ । त्यसैगरी नेपाली सेनाले पनि महिला कुस्तीतर्फ ५ वटा स्वर्ण पदक जितेको छ ।
महिला कुस्ति तर्फ नेपाली सेनाले ३ रजत र २ कास्य पदक पनि प्राप्त गरेको छ भने प्रदेश ७ ले महिला कुस्तीतर्फ १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
प्रदेश ७ बाट महिला कुस्ती तर्फ ५० किलो तौल समूहमा दमन्ती बोहोरा, ५३ किलो तौल समूह मनिषा ंिसंह, ५५ किलो तौल समूहमा संगिता धामी, ५९ किलो तौल समूह कोमल खत्री, ७२ किलो तौल समूहमा हेमा भट्टले स्वर्ण पदक प्राप्त गरेका हुन् ।
त्यसैगरी महिला कुस्तीमा नेपाली सेनाबाट ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका हुन् ।
कुस्ती तर्फको प्रतियोगिता मंगलबार सकिएको छ । महिलातर्फ १० र पुरुष तर्फ १० वटा तौल समूहमा खेलाइएको कुस्ती प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीले ४, प्रदेश २ (मधेष प्रदेश) ले ३, नेपाली सेनाले १, नेपाल प्रहरीले १, प्रदेश ५ (लुम्बिनी प्रदेश) ले १ वटा स्वर्ण पदक जितेको छ ।
पुरुष तर्फ ५७ केजी तौल समूहमा सशस्त्र प्रहरीका कुन्दन शाह, ६१ केजी तौल समूहमा प्रदेश २ का अमेशरकुमार यादव, ६५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुजित यादव, ७० केजी तौल समूहमा सशस्त्र प्रहरीकै उमेश कुमार ठाकुर, ७४ केजी तौल समूहमा नेपाली सेनाका सुरेश चुनाराले स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी पुरुष तर्फकै ७९ केजी तौल समूहमा सशस्त्र प्रहरीका बलिराम यादव, ८६ केजी तौल समूहमा प्रदेश २ का लालबहादुर यादव, ९२ केजी तौल समूहमा प्रदेश ५ का रमेश गोतामे, ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाह र १२५ केजी तौल समूहमा प्रदेश २ का राज यादवले स्वर्ण पदक जितेका छन् ।
विजेताहरुलाई मंगलबार नै ट्रफी तथा पुरस्कार प्रदान गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नवलपुरमा सेपाकताक्रा प्रतियोगिता भने जारी रहेको छ । उक्त प्रतियोगिता बुधबार सकिने जनाइएको छ ।
फोटोहरु