सेपाक ताक्रोमा सेनालाई ५ स्वर्ण, बाग्मतीलाई १ स्वर्ण
रामकुमार श्रेष्ठ –
नवलपरासी, २ कात्तिक ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पूर्वी नवलपरासीको कावासोतीमा भएको सेपाक ताक्रो खेलमा नेपाली सेनाले ५ वटा स्वर्ण पदक जितेको छ ।
नेपाली सेनाले सेपाक ताक्रो खेलमा क्वार्ड महिला, रेगु पुरुष, महिला रेगु, डबल भेट्रेन्स महिला र डबल भेट्रोन्स पुरुषमा गरी ५ वटा स्वर्ण पदक हात पारेको हो ।
त्यसैगरी पुरुष क्वार्डतर्फ भने नेपाली सेनाले तेस्रो स्थान प्राप्त गरेको छ । बुधबार विहान रेगु पुरुष र क्वार्ड महिलातर्फको फाइनल खेलहरु भएको थियो ।
नेपाली सेनाले क्वार्ड महिलामा बाग्मतीको टिमलाई २–० को सोझो सेटमा पराजित गरेको थियो भने रेगु पुरुषतर्फको खेलमा भने नेपाली सेनाको टोलीलाई गण्डकी प्रदेशका टोलीले निक्कै चुनौती दिएको थियो ।
रेगु पुरुषतर्फको फाइनल खेलमा नेपाली सेनाले २१–१६, ८–२१ र ९–१५ को सेटमा जित हात पारेको हो ।
६ वटा स्वर्ण पदकका लागि भएको सेताक ताक्रोको प्रतिप्रर्धामा बाग्मती प्रदेशले पु्रुष क्वार्डतर्फ स्वर्ण पदक जितेको थियो । पुरुष क्वार्डमा लुम्बिनी प्रदेशका टिम दोस्रो भएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नवलपुरको कावासोतीमा कुस्ती र सेपाक ताक्रो गरी २ वटा खेलको प्रतियोगिता भएको थियो । बुधबार सेपाक ताक्रो प्रतियोगिताको फाइनल चरणका खेलहरु सकिएसँगै नवलपुरमा आयोजित दुवै खेल सकिएको छ । सेपाक ताक्रो प्रतियोगिताका विजयीहरुलाई बुधबार नै पुरस्कार वितरण गरिएको थियो ।