सांगितिक क्षेत्रमा उदाउँदो तारा कावासोतीका कृष्ण गैरे





रामकुमार श्रेष्ठ –

पूर्वी नवलपरासीको कावासोती १७ निवासी कृष्ण गैरे सांगितीक क्षेत्रका उदाउँदो तारा हुन्। हालसम्म १ दर्जन बढी गीत गाइसकेका गैरेका अधिकांश गीत चर्चित रहेका छन्।




उनले ‘दशैं आयो, तिहारै आयो’, ‘रेलैमा लगाउँ माया बेलैमा’, ‘बेबी आइलभ यु’, ‘ए मायालु नबोली नबोली मन चोयौं सुटुक्कै’ जस्ता कर्णप्रिय गीत दर्शक माझ ल्याइसकेका छन् ।

पाल्पाको सिन्दी गाउँपालिका ५ कठैडाँडामा जन्म भई १७ बर्षका उमेरमा कावासोती झरेका गैरेले पाल्पामा विद्यालय स्तरको अध्ययनकै क्रममा विद्यालयबाटै गीत गाउन शुरु गरेका हुन् ।

उनले विद्यालयमा हुने लोकगीत प्रतियोगिताका साथै विभिन्न खाले सांगितिक प्रतियोगितामा भाग लिएर संगीत यात्रा शुरु गरेका थिए । उनले आफू सहभागी भएको प्रतियोगितामा कहिल्यै रित्तो हात फर्कन परेनन् । कक्षा स्तरको प्रतियोगितादेखि, विद्यालय स्तरको प्रतियोगिता, जिल्ला स्तरको प्रतियोगिता प्रथम, द्वितीय स्थान हासिल गर्न गर्दथे ।

त्यसो त उनले सानैमा गाउँघरमा हुने विवाह, पूजाआजामा मेला महोत्सवमा गएर रातभरी गीत गाउने पनि गर्दथे । सानैदेखि गीत, सगीत प्रति रुची राख्ने गैरे अहिले सांगीतिक क्षेत्रमा उदाउँदो ताराको रुपमा अगाडि बढेका छन् । उनले पाल्पाको स्थानीय रेडियो मदनपोखरा, रामपुर एफएमले आयोजना गरेको जिल्ला स्तरको लोकगीत प्रतियोगितामा पनि सहभागी भएर प्रथम स्थान हालिस गरेपछि सञ्चारक्षेत्रबाट आधिकारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेका हुन् ।

उनले २०७४ सालमा जातीय उत्थानका विषय समेटिएको गीत ‘माया लाउन जातैले छेक्दैन’ नामक गीत गाएर सांगितीक क्षेत्रमा गायकको रुपमा आफ्नो नाम नेपाली सांगितिक क्षेत्रमा दर्ज गरेका थिए। गैरेले बाल्यकालको घटना स्मरण गर्दै भने – म कक्षा ४ मा अध्ययन गर्दा गाविस स्तरीय प्रतियोगिता हुँदा पचास रुपैयाँ पुरस्कार पाएपछि म फुरुङ्ग भएको थिए। त्यसले नै मलाई संगीत क्षेत्रमा लाग्न थप प्रेरणा मिल्यो।’ गैरे अहिले नेपाल लगायत देश विदेशमा हुने मेला महोत्सव तथा सांगितीक कार्यक्रममा व्यस्त हुने गरेका छन् । उनले संगीत दाम कमाउनका लागि भन्दा पनि नाम कमाउन र आत्म सन्तुष्टीका लागि भएको बताउँछन् ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नवलपुरका जिल्ला सदस्यसमेत गैरे स्थानीय स्तरका विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक कार्यमा पनि अग्रसर भएर लागि परेका छन् । गैरेलाई थप सफलताको शुभकामना ।




सम्बन्धित
Loading...