नवलपुरको दुम्किबासमा दोस्रो महोत्सव हुँदै, १०० बढी स्टल रहने





रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबासमा दोस्रो दुम्किबास महोत्सव हुने भएको छ ।




बुधबार दुम्किबासको गुम्बामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव मंसिर १४ गतेबाट मंसिर २४ गतेसम्म चल्ने छ ।

विनयी खोला किनारमा हुने महोत्सवमा १ सय बढी स्टलहरु रहेन आयोजक संस्था आदिवासी जनजाति युवा महासंघ नवलपुरका अध्यक्ष नम्सु सुनारी मगरले बताए ।

महोत्सवमा १ सय रुपैयाँ टिकट लाग्ने आयोजकले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, व्यापार, उद्योग, कला संस्कृति, शैक्षिक प्रदर्शनी लगायतका स्टलहरु रहने छन् । पत्रकार सम्मेलनमा अध्यक्ष सुनारीले आजैबाट स्टल बुकिङ शुरु भएको बताए ।

उनले भने – यहाँ उत्पादित सुन्तलालाई बजार दिने समय पारेर महोत्सव गरिएको हो । स्थानीय स्तरका उत्पादनलाई प्रोत्साहन गर्ने र बजार उपलब्ध गराउने गरी महोत्सव आयोजना गरेका हौं ।

आदिवासी जनजाति युवा महासंघ नवलपुरको आयोजनामा हुने महोत्सवमा स्थानीय निकाय तथा वडा कार्यालयहरु, स्थानीय संघसंस्थाहरु पनि आयोजक र सहयोगी संस्थाको रुपमा रहने उनले बताए ।

महोत्सवबाट भएको आम्दानीबाट दुम्किबासको विनयी रानी गुम्बा र शिवालय मन्दिरको स्तर उन्नतीमा खर्च गरिने आयोजकले जनाएको छ । त्यसैगरी गरिब तथा जेहेन्दार विद्यार्थीको लागि अक्षय कोष स्थापना गरिने पनि आयोजकले लक्ष्य लिएको छ ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने महोत्सवमा नवलपुर एकल खुल्ला नृत्य प्रतियोगिता, भ्वाइस अफ नवलपुर सिजन १ लगायतका प्रतियोगिता पनि गरिने आयोजकले जनाएको छ ।




सम्बन्धित
Loading...