“अपाङ्गमैत्री संरचना निर्माण गर्न माग”
कपिलवस्तु, २८ कात्तिक ।
देशका हरेक सरकारी तथा गैर सरकारी निकायका हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने एक कार्यक्रमका सहभागीले जोडदार माग गरेका छन् ।
चन्द्रौटामा भेला भएका मेरुदण्डीय पक्षघातका अपाङ्ताहरुले राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिहरुको समान पहुँच र सहभागिता हुनुपर्ने माग गरेका हुन् । मेरुदण्डीय पक्षघात समूह नेपाल, कपिलवस्तुको प्रथम साधारण सभा तथा अधिवेशनमा उनीहरु जिल्लाका विभिन्न स्थानबाट सहभागिता जनाएका थिए ।
अरुको सहाराबिना केही पनि गर्न नसक्ने मेरुदण्डीय पक्षघातका अपाङ्तालाई पनि राज्यले अवसर दिए केही गर्न सकिने मेरुदण्डीय पक्षघात समूह नेपाल कपिलवस्तुका अध्यक्ष खुमराज घिमिरेले बताए ।
उनले भने – “हामीजस्ता मेरुदण्डीय अपाङ्ताले पनि अवसर पाए सपाङ्गता सरह केही गर्न सक्छौं ।” राज्यले अपांगता भएकालाई माया होइन, असवर दिनुपर्छ –उनले जोड दिए ।
यसैबीच मेरुदण्डीय पक्षघात समूह नेपालले ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले खुमराज घिमिरे अध्यक्ष रहेको ९ सदस्यीय नयाँ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा फर्सुराम खनाल, सचिवमा राधेश्याम थारु सहसचिवमा टिकादेवी पोख्रेल, कोषाध्यक्षमा बिनोद रोका सर्वसम्मत चयन भएका छन् ।
यसैगरी अधिवेशनबाट मुमाराम आचार्य, अनु थारु, बाटुली कुमारी घिमिरे र तुल बहादुर वि.क. सदस्यमा चयन भएका छन् ।
कार्यक्रममा भेला भएका मेरुदण्डीय पक्षघातका अपांगताहरुले विभिन्न ८ बुँदे मागसहित चन्द्रौटा चोक परिक्रमा गरेका छन् । उनीहरुले राज्य तथा विभिन्न निकायको हरेक संरचना अपांगमैत्री हुनुपर्ने माग राख्दै ध्यानाकर्षण गराएका छन् ।
सार्वजनिक स्थानमा ह्वीलचेयरको पहुँच हुनुपर्ने उनीहरुको माग छ । यस्तै जिल्लभित्र रहेका पालिका तथा वडा भवन, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, बैंक, प्रशासनिक भवन, होटल, सभाहल तथा शौचालयहरु ह्वीलचेयर मैत्री हुनुपर्ने, विशेषत जिल्ला तथा नगरका मुख्य शहरीकरण स्थानमा ह्वीलचेयर गुडाउने बाटो तयार गर्नुपर्ने र ट्राफिक संकेत हुनुपर्ने, सम्पूर्ण सरकारी तथा निजी कार्यालयहरु ह्वीलचेयर मैत्री हुनुपर्ने, सार्वजनिक यातायातमा सवारी गर्दा मेरुदण्डीय पक्षघात भएका व्यक्तहरुलाई अन्य अपाङ्गता सरह व्यवहार सम्मान सहित सेवा सुविधा हुनुपर्ने, सार्वजनिक शौचालयहरु ह्वीलचेयर मैत्री हुनुपर्ने, मानिस सहज रुपमा बाँच्न पाउने अधिकारलाई मेरुदण्डीय पक्षघात भएका व्यक्तिहरुलाई राज्यले उचित वातावरण बनाई सहज रुपमा जीविकोपार्जन र बाँच्ने आधार तयार गर्नुपर्ने सरकारसँग उनीहरुको माग छ ।