मत हाल्न सिकाउन जाँदा घर भित्र लुके मतदाताहरु





रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ का महिला स्वास्थ्य स्वयम् सेविका टनकुमारी थापा चौधरीले मंगलबार साँझसम्ममा मतदाताहरुको घरघरमा गएर कसरी उम्मेदवारलाई भोट हाल्ने भनेर आफ्नो वडा भित्रका मतदाताहरुलाई सिकाएर सकि सकिन् ।




आफ्ना वडा भित्र रहेका मतदाताको घर घरमा गएर खेतबारीमा गएर मतहाल्ने तरिका सिकाईन । अहिले जति उम्मेदवार छन् मतपत्रमा त्यति मात्र उमेदवारको मत चिन्ह रहेको र ४ वटा फरक फरक मत पत्र रहेका कारण बदरमत प्रतिशत घट्नेमा ढुक्क देखिन्छन् पनि । तर, उनी मतदाता शिक्षा कार्यक्रम लिएर मतदाताको घरघर गएर भोट हाल्ने तरिका सिकाउँदा कतिपय मतदाताले शंका गरेको अनुभव सुनाइन् ।

सोमबार कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डे, नगर शिक्षा अधिकारी क्षत्रबहादुर भण्डारी, राजन पाण्डे लगायतको टोलीले मतदाता शिक्षाको बारेमा जानकारी लिने क्रममा उनले यस्तो अनुभव सुनाएकी हुन् ।

टनकुमारी थापा चौधरीले भनिन् – कतिपय ठाउँमा मतदाताहरुलाई भोट हाल्न सिकाउँन जाँदा उहाँहरु घर भित्र लुक्न जानुभयो । पछि बुझ्दा जाँदा थाहा भयो । भोट हाल्न आएको होला भनेर लुकेका रैछन् ।

स्वास्थ्य स्वयम् सेविका चौधरी यस अघि उक्त गाउँमा बालबालिकाहरुलाई खोप कार्यक्रम लिएर गएको र सोही क्रममा भेटिएकी एक महिलाले चिने पछि मात्र आफूले उक्त गाउँमा मतदाता शिक्षाको बारेमा बुझाउन पाएको उनले बताइन् ।

त्यस्तै कावासोती नगरपालिका १७ नम्बर वडाका महिला स्वास्थ्य स्वयम् सेविका धनकुमारी थनेतको अनुभव पनि त्यस्तै छ । उनले भनिन् – मतदाता शिक्षा कार्यक्रम लिएर गाउँगाउँ गए कतिपय मतदाताहरु मत हाल्न जान्नौं किन सिक्नु पर्यो र भनेर तर्किने गरेको पाएँ ।

२ वटा प्रतिनिधि सभा सदस्य र ४ वटा प्रदेश सभा सदस्यको निर्वाचन रहेको पूर्वी नवलपरासीमा २ लाख ६० हजार ४ सय ६१ जना मतदाता रहेका छन् । नवलपुरमा ६ पदका लागि दल र स्वतन्त्रका उम्मेदवारहरु गरी ६८ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले नवलपुरका मतदाता शिक्षा कार्यक्रममा नमुना मतदान कार्यक्रम सकिएको बताए । भुसालका अनुसार नवलपुरमा विहीबारसम्ममा सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसक्ने छन् ।




सम्बन्धित
Loading...