नवलपुरको मध्यविन्दु अस्पतालमा मृगौलाका रोगीलाई निशुल्क डायलाइसिस शुरु





रामकुमार श्रेष्ठ —

पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा मंगलबारदेखि मृगौला रोगीहरुलाई निशुल्क रुपमा मृगौलाको डायलाइसिस शुरु भएको छ । यहाँ मृगौला रोगीहरुका लागि निशुल्क रुपमा मृगौलाको डायलाइसिस शुरु भएपछि जिल्ला भित्रका रोगीहरुलाई बाहिर जिल्ला जानु पर्ने समस्या त टरेको छ नै अझ निशुल्क रुपमा डायलाइसिस गर्न पाएपछि आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता पनि हट्ने भएको छ ।




पूर्वी नवलपरासीको नजिकको जिल्ला रुपन्देही र चितवनका सरकारी अस्पतालमा मृगौलाको डायलाइसिसका लागि बेलैमा पालो नपाउने र निजी अस्पतालहरुमा डायलाइसिसगर्दा आफूले जीवन भर कमाएको आर्थिक उपचारमै सक्नु पर्ने बाध्यता यहाँका मृगौला पीडितहरुको थियो । तर, नवलपुर जिल्लाकै मध्यविन्दु जिल्ला अस्पतालमा यो सेवा शुरु भएपछि जिल्ला भित्रका मृगौला पीडितहरुले राहत पाएका छन् ।

विगत ११ बर्षदेखि मृगौला प्रत्यारोपणका लागि मृगौला नपाएर डायलाइसिस गराउँदै आएकी देवचुली ६ निवासी ५८ बर्षीया चित्रकुमारी मल्लले आफ्नै जिल्लाको सरकारी अस्पतालमा निशुल्क डायलाइसिस गर्न पाउँदा खुसी लागेको बताइन् ।

मध्यविन्दु जिल्ला अस्पतालमा मंगलबारबाट मृगौला रोगीको निशुल्क उपचार शुरु भएको हो । डायलाइसिस सेवाको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ्गले उद्घाटन गरेर शुरु गरेका थिए । अस्पतालका लागि गण्डकी प्रदेश सरकारले ४ वटा डायलाइसिस मेसिन निशुल्क प्रदान गरेको हो ।

उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल लगायतले आफ्नो भनाइ राख्दै सहयोगका लागि प्रतिबद्धता गरेका थिए ।

जिल्ला भित्रका मृगौला रोगीहरुले मध्यविन्दु जिल्ला अस्पतालबाट निशुल्क सेवा पाउने अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।
स्वास्थ्य विमा गरेका वा नगरेका सबैले निशुल्क डायलाइसिस सेवा पाउने सुवेदीले बताए । त्यसका लागि कुनै पनि पालिका वा वडा कार्यालयबाट सिफारिस पनि नचाहिने उनले जानकारी गराए ।

नवलपुर जिल्लामा कम्तिमा ८० जना मृगौला रोगीहरुले डायलाइसिस गरेको मध्यविन्दु जिल्ला अस्पतालले तथ्यांक संकलन गरेको छ । जसका लागि अस्पतालमा रहेका ४ वटा मेसिन पूर्ण रुपमा सञ्चालनमा ल्याउनु पर्ने छ भने अस्पतालमा डायलाइसिस सेवामा मात्रै १० वटा वेड सञ्चालनमा ल्याउनु पर्ने देखिन्छ ।

मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कंडेलका अनुसार अस्पतालले जनशक्ति व्यवस्थापनदेखि थप बेड व्यवस्था गरेर जिल्ला भित्रका सबै विरामीलाई मध्यविन्दु जिल्ला अस्पतालमै सेवा दिने गरी तयारी थालिसकेको बताए । अस्पतालले पहिलो शत्रको रुपमा अहिले ९ जना मृगौला रोगी विरामीलाई मात्र सेवा दिएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालमा मंगलबारबाट शुरु भएको मृगौला रोगीका लागि निशुल्क डायलाइसिस सेवाले यहाँका मृगौला रोगीहरुका लागि खेतबारी बेचेर उपचार गर्नु पर्ने बाध्यता हटे पनि अस्पतालले कति समय निशुल्क सेवा प्रदान गर्न सक्छ र कहिलेसम्म यो सेवा पूर्ण रुपमा सञ्चालनमा आउन सक्छ भन्ने अर्को जटिल विषय भने अस्पताल प्रशासनको अगाडि उभिएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले यसका लागि स्थानीय तहको सरकारदेखि प्रदेश तथा केन्द्र सरकारको सम्बन्धित मन्त्रालयसम्म पहलकदमी लिइरहेको बताए । घिमिरेले पुस मसान्तसम्ममा जिल्ला भित्रका मृगौला रोगीहरुले डायलाइसिसका लागि बाहिरी जिल्ला जानु पर्ने बाध्यता अन्त्य हुने गरी सेवा दिने बताए ।

१५ शैयामा दर्ता भएर ५० सैयाको अनुमति प्रक्रियासँगै ५० शैयामा सञ्चालनमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा नियमित सेवाका अवला, सुत्केरी सेवा, कोभिडका विरामीलाई आइसियु कक्ष, कडा क्षयरोगका विरामीलाई होस्टेल सहितको उपचार सेवा लगायतका उपचार सेवाहरु सञ्चालनमा रहेका छन् ।




सम्बन्धित
Loading...