रेशम फिरिरीद्वारा अम्रसामा विद्यार्थीलाई स्विटर वितरण



प्रिय धन,
नवलपुर – रेशम फिरिरी नेपाल संस्थाले विद्यार्थीहरुलाई शुक्रबार स्विटर वितरण गरेको छ ।

नवलपुरको मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा अध्ययनरत ४१ जना बालबालिकाहरुलाई जाडोमा न्यानो कपडा स्विटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिए ।



लक्ष्मी आदर्श आधारभूति विद्यालयबाट यो बर्ष न्यानो कपडा वितरणको सुरुवात गरेको रेशम फिरिरी नेपाल संस्थाका अध्यक्ष दिपक पंगेनीले जानकारी दिए । पंगेनीले अब विद्यालयलाई शैक्षिक सामाग्री मात्र नभई भौतिक सामाग्री टेलिभिजन, पंखा, रंग रोगनमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका कार्यपालिका सदस्य तथा मध्यविन्दु ७ का वडा सदस्य शिव कुमारी मल्लले रेशम फिरिरी नेपाल विपन्न परिवारका लागि छत्रछायाँ बनेको भन्दै आगामी दिनमा थप सहयोगको लागि जुट्न र हातेमालो गर्न नगरपालिका सदैव तयार रहेको बताए ।

फ्रान्सेली नागरिकहरुले नेपाल र नेपालीमाथि गरेको सहयोगलाई मुर्तरुप दिन आफुहरुले रेशम फिरिरी नेपाल नामक संस्था संचालन गरेको र यो संस्थाले विशुद्ध नाफारहित तवरले विपन्न परिवारका बालबालिकाको पढाइमा ध्यान दिएको पनि अध्यक्ष पंगेनीले जानकारी दिए । यसवर्षको जाडोमा झन्डै १६ सय जना विपन्न परिवारका विद्यार्थीलाई स्विटर वितरण गर्ने लक्ष्य रहेको पनि पंगेनीले बताए ।

कार्यक्रममा रेशम फिरिरी नेपाल संस्थाका विदेशी सहयोगी फ्रान्सका मिस्टर पिएर र मिसेस तेरेज, रेशम फिरिरी नेपाल संस्थाका सचिव तारानाथ न्यौपाने, मध्यविन्दु ७ का पुर्व वडा सदस्य कमल महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य सुवास पराजुली र बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोख्रेलले जाडो समयको सुरुवातमै यसरी न्यानो कपडा वितरण आफ्नै विद्यालयबाट गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे । न्यानो कपडा पाएपछि विद्यार्थीहरु भने हर्षित थिए ।

रेशम फिरिरी नेपाल संस्थाले मध्यविन्दु, हुप्सेकोट, कावासोती लगायतका पालिकाका करिब ६० ओटा विद्यालयलाई शैक्षिक तथा भौतिक सहयोग गर्दै आईरहेको छ ।

लक्ष्मी आदर्श आधारभूत विद्यालयमा मात्रै १५ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति योजना अन्तर्गत समावेश गरी शिक्षक अभिभावकत्व ग्रहण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोख्रेलको अध्यक्षता तथा कार्यपालिका सदस्य शिव कुमारी मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक ऋषिराम भुसालले स्वागत मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...
error: Content is protected !!