प्रधानमन्त्री दाहालले लिए विश्वासको मतः पक्षमा २६८, विपक्षमा दुई



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावको पक्षमा २६८ मत रह्यो भने विपक्षमा दुई मत रह्यो । तटस्थमा मत रहेन ।

नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान अनुसार उनले आजको संसद बैठकमा विश्वासको मत लिएका हुन् ।



प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

दाहाल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!