नवलपुरको आदिवासी जनजातिहरुको धार्मिक संरचना भत्काइएकोमा विरोध

रामकुमार श्रेष्ठ –



नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ मा निर्माणाधिन अवस्थामा रहेको नमुना सदरमुकाम भित्र रहेको धार्मिक संरचनाहरु भत्काइएको प्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरले विरोध जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङद्वारा शुक्रबार जारी विज्ञप्तिमा नवलपुरका प्रहरी प्रशासन मिलेर आदिवासी जनजातिहरुको धार्मिक संरचनाहरु भत्काउने, बन्दै गरेका संरचनाहरु निर्माणमा रोक लगाउने जस्ता कार्य तत्काल नरोकिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।



नमुना सदरमुकाम निर्माण शुरु अघि नै नमुना सदरमुकाम निर्माण स्थल क्षेत्र भित्र विभिन्न जातजातिहरुको धार्मिक मठमन्दिर, गुम्बा, गुठी मन्दिरहरु लगायतका संरचनाहरु रहेका छन् । उक्त क्षेत्रमा जिल्ला प्रशासन कार्यालय नवलपुरले प्रहरी लगाएर उक्त क्षेत्रमा बनेको संरचना भत्काउने र बन्दै गरेका संरचनाहरु निर्माणमा रोक लगाउने गरेको छ ।

विज्ञप्तिमा भनिएको छ – केहीदिन यता नमुना सदरमुकाम भित्र रहेका आदिवासी जनजाति महासंघ नवलपुरको निर्माणाधिन अवस्थामा रहेको संग्राहालय लगायत, बौद्ध गुम्बा विहार र भुजेल समाज सेवा समितिको कम्पाउण्ड भित्रको संरचना निर्माणमा अवरोध गर्ने, निर्माण भईसकेका संरचना भत्काउने, राज्यको एउटा निकायबाट संरचना निर्माणको लागि बजेट दिने अर्को निकायले काममा अवरोध गर्ने जस्ता काम प्रहरी र प्रशासनबाट भएको र गर्न लगाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अतः नमुना सदरमुकाम भित्र नमुना सदरमुकाम घोषणा गर्नु अघिदेखिनै स्थानीय आदिवासी जनजाति समुदायले सामाजिक रुपमा संरक्षण, सम्बद्र्धन र भोग गर्दे आइरहेको साँस्कृतिक तथा सामाजिक धरोहरहरु (गुम्बा, मन्दिर÷थानहरु, गुठी, आदिवासी जनजाति संग्रहालय निर्माणस्थल, चिहान, चरन क्षेत्र) लगायतका क्षेत्र हटाउने, निर्माण कार्य रोक्ने, बनिसकेका संरचना भत्काउने जस्ता निन्दनीय कार्य नरोकिए नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, महासंघमा आबद्ध १० जातीय घटक संस्थाहरु र भातृ संगठनहरु मिलेर नवलपुरको प्रहरी र प्रशासनको ज्यादति विरुद्ध एक साथ चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ ।

कावासोती–३ को १७९ विगाहा क्षेत्रफलमा नमुना सदरमुकाम शिलन्यास गर्नु पूर्व कावासोती नगरपालिका वडा नं.३ मा आदिवासी जनजाति समुदायले सामाजिक रुपमा संरक्षण, सम्बद्र्धन र भोग गर्दे आइरहेको साँस्कृतिक तथा सामाजिक धरोहरहरु (गुम्बा, मन्दिर÷थानहरु, गुठी, आदिवासी जनजाति संग्रहालय निर्माणस्थल, चिहान, चरनक्षेत्र) रहेको क्षेत्रको बारेमा कावासोती नगरपालिकाको समन्वयमा तत्कालिन संघीय सांसद तिलक महत, प्रदेश सांसद रोशन बहादुर गाहा, जिल्ला समन्वय समिति नवलपुरका तत्कालिन संयोजक चेसराम आले, कावासोती नगरपालीका का तत्कालिन नगरप्रमुख चन्द्र कुमारी पुन लगायतका उपस्थितिमा नमुना सदरमुकाम निर्माण स्थलमा बनिसकेका संरचनाहरु नभत्काउने, उनिहरुले संरक्षण र भोग गर्दै आएका क्षेत्र सम्बन्धित समुदायलाई नै संरक्षण र भोग गर्न दिने, आदिवासी जनजाति महासंघको निर्माणाधिन संग्राहलय सोही ठाउँमा निर्माण गर्न दिने कदमकदाचित सोही ठाउँमा निर्माण गर्न दिन नमिले संग्राहलय निर्माणका लागि नमुना सदरमुकाम भित्रै सोही ठाउँसंग जोडिएको कम्तिमा २ विगाहा जग्गा उपलब्ध गराउने सहमति भएको र सो सहमति विपरित अहिले काम हुँदै गरेको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा पछिल्लो समय नमुना सदरमुकामको डिपिआर निर्माणदेखि हामीसंग भएको सहमतिलाई वेवास्ता गर्दै डिपिआर निर्माण गर्ने, डिपिआर भित्र हाम्रा संरचनाहरु नपार्ने, हामीले संरक्षण र भोग गर्दै आइरहेको क्षेत्रबाट हामीलाई हटाउन खोज्ने, बनिसकेका संरचना भत्काउने, निर्माण गर्न लागेका संरचनाहरु रोक्ने, हाम्रो सामाजिक तथा धार्मिक धरोहरहरु मास्ने लगायतका कार्य गरि आदिवासी समुदायलाई आतंकित गर्ने तत्काल रोक्न माग माग गर्दै अवका दिनमा हामीसंगको सहकार्य, समन्वय, परामर्शमा नमुना सदरमुकामको डिपिआर पुनरनिर्माणदेखीका कामहरु अगाडि नबढाइए र हाम्रा मागलाई वेवास्ता गरिए चरणबद्ध आन्दोलनमा चेतावनी दिएको छ ।

आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङका अनुसार प्रशासनले निर्माणाधिन आदिवासी जनजातिको संग्राहालय भत्काएको छ भने बौद्ध गुम्बा विहार र भुजेल समाज सेवा समिति नवलपुरको निर्माणाधिन संरचनाहरु निर्माणमा रोक लगाएको छ ।

स्थानीय नरबहादुर ठाडाले प्रशासनले बल प्रयोग गरेर आफूहरुले निर्माण गरेको संरचना भत्काउने र निर्माणमा रोक लगाउने गरेको बताए ।



सम्बन्धित
Loading...
error: Content is protected !!