नवलपुर बिनयी त्रिवेणीमा न अस्पताल छ, न त घाट
घनश्याम बगाले –
नवलपरासी १९ माघ –
पुर्वी नवलपरासी स्थित बिनयी त्रिबेणी गाउपालिकाको दुम्किबास क्षेत्रमा न बच्चा जन्मिन सुरक्षित अस्पताल छ न मानिस बित्दा लैजाने घाटनै रहेको छ ।
साबिकको त्रिवेणीसुस्ता, राकाचुली,बेणी मणिपुर, धुरकोट र दुम्किबास समेतका ५ गाबिस मिलेर बनेको बिनयी त्रिवेणीमा त्रिवेणी सुस्ता बाहेक अन्यत्र दाह संस्कारघाट नभएको पालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
वहाँले करिव ४० हजार मानिसको बसोबास रहेको बिनयी त्रिवेणीमा एक सुबिधा सम्पन्न अस्पतालको आवश्यकता रहदा रहदै पनि हाल सम्म प्रदेश न संघ कुनै पनि सरकारको दृष्टि पर्न सकेको छैन भन्नु हुन्छ ।
यही कारण यहाँका बृद्ध,अशक्त बिरामी तथा सुत्केरीले अस्पतालको भरपर्दो सुबिधा लिन ६० किलो मिटर पूर्वको भरतपुर या त्यति नै दुरी पश्चिमको बुटवल पुग्नु पर्ने अवस्था रहेको छ ।
यसै गरि मृत्यु संस्कारलाई पनि यहाँको ठूलोटाडी बहुवनघाट सडक चितवन राष्ट्रिय निकुञ्जले बन्द गरिदिदा स्थानीयहरू ५० किमी टाढा देवघाट र त्रिवेणी पुग्नु पर्ने बाध्यतामा रहेको अध्यक्ष गिरीको कथन छ ।
गिरीले संस्कृति र संस्कार रहेन भने बनेका कुनै पनि संरचना नरहने बताउदै सरोकारै नभएको क्षेत्रमा मध्यवर्तीको नाम दिएर चितवन राष्ट्रिय निकुञ्जले दाहसंस्कार घाटको बाटो छेक्न नमिल्ने जिकिर गर्नु भयो ।
प्राचिन हुलाकी मार्ग छेउमा पर्ने नारायणी नदीमा अवस्थित यो घाट तराई तथा पहाडे समुदायका मानिस त्रिवेणी जाउ आउ गर्ने नदीघाटीका रूपमा रहेको थियो ।
त्रिवेणीधाम, दाउन्ने, दुम्किबास र सर्दी क्षेत्रको बढ्दो बजारीकरण,होङ्सी तथा सिजी जस्ता ठूला सिमेन्ट कारखाना लगायत दर्जन ठूला ह्याचरी उद्योग रहेको यो क्षेत्रमा विरामी पर्दा होस या मानिस मर्दा चाहिने बैद्य न घाट केही नहुनु दुःखको कुरा भएको स्थानीयहरू बताउँछन् ।
प्राकृतिक हिसावले ३ तले गाउँ पालिका बिनयी त्रिवेणीमा तराई,भित्री मधेश र पहाडको भूवनोट रहेको छ ।
चुरे,शिवालिक र महाभारत पर्वत श्रृंखलामा बाँधिएको यो पालिका गण्डकी प्रदेशको एकमात्र भारतसंग जोडिएको सिमानाकामा पर्दछ ।
पूर्व पश्चिम यात्राको कठीन खण्ड दाउन्ने पहाड तथा तथा दुम्किबास पूर्वको चक्ला वन क्षेत्रमा बारम्वार भईरहने सडक दूर्घटनाका बिरामीको उपचारार्थ यहाँ एक सरकारी अस्पताल निर्माण गर्न स्थानीयले माग गर्दै आएकाछन् ।