फाल्गुन ३ गतेदेखि कावासोतीमा नवलपुर महोत्सव हुने
रामकुमार श्रेष्ठ–
कावासोती। यही फाल्गुन ३ गतेदेखि १३ गतेसम्म कावासोतीमा सातौं नवलपुर महोत्सव हुने भएको छ ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ड अर्यालका अनुसार महोत्सव कावासोती ९ दुबोर्ग मैदानमा हुने भएको छ ।
महोत्सवमा रत्यौली प्रतियोगिता, नवलपुर डान्स आइडियल, स्थानीय कला संस्कृतिको प्रदर्शनी लगायतका कार्यक्रमहरु रहने छ ।
त्यसैगरी महोत्सवमा जिल्ला स्तरीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, मावि स्तरीय विज्ञान प्रदर्शनी तया प्रतियोगिता, टिकटिक प्रतियोगिता, एक पालिका एक कृषि उत्पादन, एक पालिका एक व्यापारिक स्टल लगायतका कार्यक्रमहरु पनि राखिएको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए ।
३ गतेदेखि १३ गतेसम्म ११ दिन चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रदर्शनीदेखि बाल उद्यन, व्यापारिक स्टल, कृषि स्टल लगायतका स्टलहरु रहने आयोजकले जनाएको छ ।
महोत्सव स्थलमा स्टल निर्माण लगायतका काम शुरु भईसकेको छ। आर्थिक मन्दी उकास्न महोत्सवले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ। महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।
नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले महोत्सवको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरेर ५ लाख बढी दर्शकले अवलोकन गर्ने र महोत्सवमा १ करोड ८५ लाख बढीको कारोबार हुने लक्ष्य राखिएको बताए ।
महोत्सवमा टिकट शुल्क १ सय रुपैयाँ राखिने छ भने महोत्सव २ सय ५० वटा स्टलहरु रहने जनाइएको छ ।