बुलिङटारको १२ औँ गाउँसभा तेस्रो पटक पनि स्थगित



नवलपुर । बुलिङटार गाउँपालिकाको १२ औँ गाउँसभा लगातार तेस्रो पटक पनि स्थगित भएको छ । गणपुरक सङ्ख्या नपुगेपछि १२ औँ गाउँसभा (हिउँदे अधिवेशन) बस्न सकेको छैन । आइतबार फागुन २१ गतेका लागि आह्वान गरिएको १२ औँ गाउँसभामा समेत गणपुरक सङ्ख्या पुगेन ।

गत माघ १० गते आह्वान गरिएको गाउँसभामा सदस्य नआएपछि स्थगित गरी फागुन १९ गते शुक्रबारका लागि डाँकिएको थियो । सो सभामा समेत बहुमत सदस्यहरु अनुपस्थित रहे । त्यसपछि २१ गतेका लागि आह्वान गरिएको बैठकमा समेत सदस्य गएनन् ।



गाउँ सभामा प्रस्तुत गर्न लागिएको बजेट बाँडफाड एवं संशोधनका विषयमा कुरा नमिलेको जनाईएको छ । तीनपटक सम्म स्थगित भएको १२ औँ गाउँसभा सञ्चालनका सम्बन्धमा आइतबार कार्यपालिका बैठक बसेपनि निचोडमा पुग्न सकेन ।

माघ १० गते गाउँ सभामा गणपुरक सङ्ख्या नपुगेपछि पुनः कार्यपालिका बैठक बसी एजेण्डा तय गर्नुपर्नेमा त्यसो हुन नसकेको बुलिङटार गाउँपालिका उपाध्यक्ष दिलमाया रानाले बताइन् । सोही असन्तुष्टिका कारण सदस्यहरु नआएको बुझिएको उनको भनाई थियो । सभा सञ्चालनबारे सदस्यहरुसँग छलफल भइरहेको उनले बताइन् ।

बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले १२ औँ गाँउ सभा (हिउँदे अधिवेशन) गणपुरक सङ्ख्या नपुगेपछि स्थगित हुँदै आएको बताए । अर्को बैठक कहिले आह्वान गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको उनको भनाई थियो । गाउँसभामा ११ औँ सभामा पेश गरिएको बजेट परिमार्जन एवं संशोधन, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक प्रस्तुत गर्ने लगायत कार्यसूचि रहेको उनले जानकारी दिए ।

वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराज पाठकले गाउँपालिका अध्यक्ष एकलौटी रुपमा अघि बढ्न खोजेका कारण समस्या आएको बताए । उनले वडाबाट आएका योजना अनुसार हुनुपर्ने माग गरे । गाउँपालिका अध्यक्ष आफैले योजना तय गरी संशोधित योजना तथा बजेट समेत हेर्न नदिएको र आफुहरुले हिनताबोध महशुस गरी सभामा उपस्थित नभएको उनले बताए । सभा सञ्चालनमा असहमति प्रकट गर्दागर्दै पनि बैठक राखिएको र स्थगित भयो भनेपछि पनि कार्यपालिका बैठकबाट निर्णय हुनुपर्नेमा नियम मिचेर अघि बढेको आरोप लगाए ।

वडा नम्बर ५ का वडा अध्यक्ष विजय थापाले हरेक कुरा राजनीतिकरण गर्न खोज्दा पालिकाको काम प्रभावित बन्न पुगेको बताए । उनले बैठकमा बहुमत सदस्यको दम्भ देखाएका कारण अन्य वडाका काम समेत प्रभावित बनेको बताए । भौगोलिक अवस्थिती र वर्षायाम नजिकिएका कारण योजनाहरु सम्झौता हुन नसक्दा अझै काम प्रभावित बन्ने चिन्ता व्यक्त गरे ।

बुलिङटार गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारीले बैठक बोलाउँदा समेत अनुपस्थित हुनु भनेको गैरजिम्मेवार रुपमा प्रस्तुत हुनु रहेको बताए । उनले चित्त नबुझेका विषयमा छलफल गर्ने भनेकै सभा भएकाले बादविवाद गर्ने राय राख्न पनि सभामा उपस्थित हुनुपर्ने बताए । उनले बैठक नबोलाएको भए बोलाउन माग गर्नुपर्नेमा उल्टै बैठकमा नआउनु दुखद् रहेको बताए । चित्त नबुझेका विषयमा बैठकमा बसेर निरन्तर छलफल गर्न सकिने उनको भनाई थियो । तीनपटक आह्वान समेत गर्दा अनुपस्थित भएपछि उनले अन्य विकल्प खोजी भइरहेको बताए । सभा सञ्चालनका लागि पुनः आह्वान गर्ने बताउँदै उनले नभए अन्य प्रक्रिया र कानुनी बाटो अपनाउने बताएका छन् ।

बुलिङटार गाउँपालिकाको कार्यपालिकामा १४ जना र नगरसभामा ३३ जना सदस्य रहेका छन् । गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी नेकपा एमालेबाट निर्वाचित हुन् भने उपाध्यक्ष दिलमाया राना सहित सभामा बहुमत सदस्य नेपाली काँग्रेसबाट निर्वाचित रहेका छन् । ६ वटा वडा मध्ये गाउँपालिका अध्यक्ष र वडा नम्बर ५ का सबै जनप्रतिनिधि बाहेक सबै वडामा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।



सम्बन्धित
Loading...