बुटवल–नारायणगढ सडक द्रुत स्तरमा काम नभए सरकार ठेक्का तोड्न बाध्य हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ



रामकुमार श्रेष्ठ –

नवलपुर । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल नारायणगढ सडक विस्तारको काम तीब्र गतिमा अगाडि नबढाइ सरकारले ठेक्का तोड्ने बताएका छन् ।



शुक्रबार पूर्वी नवलपरासीको कावासोतीमा प्रेस सेन्टर नवलपुरको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले भने – काम छिटो गर्न हामीले पटक पटक ताकेता गरेका छौं । जुन गतिमा काम हुनु पर्ने हो त्यो हुन नसके हामी ठेक्का तोड्ने पक्षमा छौं ।

यसैबीच उपप्रधानमन्त्रीले श्रेष्ठले शुक्रबार नै मध्यविन्दु १ सेतापानीमा रहेको शान्ति आधारभूत नमूना विद्यालयको बार्षिकोत्सव कार्यक्रममा पनि सहभागी भएका छन् । उनले बार्षिकोत्सव कार्यक्रममा विद्यालयको ४ कोठे नवनिर्मित भवनको पनि उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार देशमा चाडो समृद्धि आउने गरी विकासका काममा लागि परेको बताए । उनले धनी र गरिब बीचको दुरी घट्ने गरी सरकारले देशको समृद्धिका लागि काम गरिरहेको दावी गरे । उनले सामुदायिक विद्यालय, कलेजहरुमा सबै खाले विद्यार्थी अट्ने गरी विद्यालयको शैक्षिक र भौतिक स्थिति वृद्धिका लागि सरकार लागि परेको बताए ।

सोही अवसरमा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले उपप्रधानमन्त्री श्रेष्ठलाई मध्यविन्दु नगरपालिका भित्रको बाटो, पुल, पुलेसा निर्माणका लागि माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दधिराम सापकोटाले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नवलपुर २ का संघीय सांसद विष्णु कार्की, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेको नारायणकाजी श्रेष्ठले शुक्रबार नै कावासोती १६ डण्डामा आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।



सम्बन्धित
Loading...