विषाक्त सिनोको कारण नवलपुरमा गिद्धहरु मरे
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा विषाक्त सिनो खाएका कारण गिद्धहरु मरेका छन् । कावासोती नगरपालिका ३ केरुङ्गे खोलामा विषाक्त मासु वा आहार खाएर मरेका ३ वटा स्यालको सिनो खाएर ४ वटा गिद्ध मरेका छन् भने १ दर्जन बढी विरामी परेका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको पिठौली आसपासका क्षेत्रमा प्रकृतिका कुचिकार गिद्ध संरक्षणका लागि जटायु रेष्टुरेन्ट नै सञ्चालन गरिएको छ । जसका कारण यहाँ लोप हुनै लागिसकेका गिद्धहरु विस्तारै बढ्न थालेका छन् । तर, छरछिमेक गाउँ र जिल्लाहरुमा विषाक्त सिनोका कारण गिद्धको मृत्यु हुन्छ भन्ने सचेतना फैलाउन नसक्दा बेला बेलामा गिद्ध संरक्षण अभियानमा ठूलो धक्का लाग्ने गरेको छ ।
सोमबार कावासोतीमा यस्तै भएको छ । कावासोती ३ को केरुङ्गे खोलामा मरेर बसेका ३ वटा स्यालको सिनो (मासु) गिद्धले खाए पछि कतिपय मरेका छन् भने कतिपय विरामी परेका छन् । अहिलेसम्म विरामी गिद्धका खोजी भईरहेको भएपनि भेटिएका मध्ये ४ वटा गिद्धको मृत्यु भईसकेको छ । अहिलेसम्मको खोज र प्रारम्भिक अनुसन्धानको क्रममा विषाक्त आहार खाएर निधन भएको स्यालको मासु (सिनो) खाएकै कारण गिद्धहरु मरेको र विरामी परेको पाइएको जटायु रेष्टुरेन्टका व्यवस्थापक ईश्वरी चौधरीले बताए ।
गत बर्ष पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा विष खुवाएर मारिएका कुकुरका सिनो मासु खाएर ठूलो संख्यामा गिद्धहरु मरेका थिए । अहिलेसम्म भेटिएका घटनाहरुमा घरपालुवा जनवारहरु गाई, कुकुर आदिको विषाक्त मासु (सिनो) खाएर गिद्ध मर्ने गरेको पाइएको भए पनि जंगली जनवारको मासु खाएर गिद्ध मरेको घटना नेपालमै यो पहिलो हो । स्याललाई विष हालेको मासु वा कुनै आहार खुवाएर मारेको वा स्यालले कुनै विषाक्त आहार खाएर मरेका कारण सोही स्यालको सिनो मासु खाएर गिद्ध मरेको डिभिजन वन कार्यालय नवलपुर कावासोतीका सहायक वन अधिकृत शिशिर लम्सालले बताए ।
गिद्ध मरेको र विरामी परेको थाहा पाएपछि गिद्ध संरक्षणका अभियान थालेका जटायु रेष्टुरेन्टका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका टोलीले गिद्धको उद्दार गर्दै उपचार गरेका छन् । उद्दार स्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले आफूले यस विषयमा अनुसन्धान गरिरहेको र यति कसैले स्याललाई विषाक्त आहार खुवाएर मारेको पाइए कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।
जंगली जनवारबाट घरपालुवा पशु पंक्षिहरु बाख्रा, कुखुरा, हाँस आदि जोगाउन नियतवस कसैले स्याललाई विष हालेर आहार खुवाएको भए पनि वा भुलबस कसैले विषाक्त खानेकुरा फालेर स्यालले खाएर मरेको भए पनि त्यही स्यालको सिनो अर्थात मासु खाएर गिद्ध मर्नु भनेको अझै गिद्ध संरक्षणको सचेतना अभियान समुदाय स्तरसम्म पुग्न नसकेको प्रमाणित हुनु हो । विषाक्त सिनो खाएर डंगर जात, हिमाली गिद्ध मरेको र विरामी परेको पाइएको हो । घटना स्थल वरवर जंगल भएका कारण खोजीकार्य अझै केही दिन लाग्न सक्ने देखिएको छ । नवलपुरमा २ दिन अघि मात्र डंगर जातको १० वटा गिद्ध प्रजनन केन्द्रबाट हुर्काएर प्राकृतिक वासस्थान जंगलमा छाडिएको थियो ।