थप तीन गिद्ध मृत फेला, मृतकको संख्या ९ पुग्यो
नवलपरासी — कावासोती क्षेत्रमा मंगलबार थप ३ वटा गिद्ध मृत अवस्थामा फेला परेका छन् । बिरामी अवस्थामा भेटिएको एक गिद्धलाई जटायु रेस्टुरेन्टमा उपचारका लागि लगिएको छ ।
यसअघि आइतबार त्यहाँ ६ गिद्ध मृत भेटिएका थिए । संरक्षणकर्मी डीबी चौधरीका अनुसार कावासोतीस्थित केरुंगेखोला नजिकको सामुदायिक वन क्षेत्रमा विषाक्त खान्की खाएको स्यालको आहारा खाएका कारण गिद्ध मरेका हुन् ।
स्थानीयले घरपालुवा हाँस र कुखुरा चोर्ने स्याल मार्न विष हालेको अनुमान गरिएको छ । पुरानो कावासोतीमाथिको ज्योतिकुन्ज र अंकुर सामुदायिक वनमा चार दिनअघि मरेका ३ वटा स्याल खाँदा गिद्ध मरेको डिभिजन वन कार्यालयले पनि जनाएको छ ।
डिभिजन वन कार्यालय पूर्वी नवलपरासीका प्रमुख मोहन काफ्लेका अनुसार लोपोन्मुख प्रजातिका गिद्ध मारेको कसुरअनुसार सजाय हुने व्यवस्था छ । अनुसन्धानबाट मारेको यकिन भए अनुसन्धान अधिकृतको मागदाबी अनुसार सजायको व्यवस्था छ ।
पोस्टमार्टम गरिएका गिद्ध र स्यालको थप अनुसन्धानका लागि नास्टमा पठाइएको छ । कुन विष खाएको थियो भन्ने रिपोर्ट आउन तीन साता समय लाग्ने काफ्ले बताउँछन् । ‘स्यालको पोस्टमार्टम गर्दा बाख्रा खाएको जस्तो देखिएको छ । छाला र रौं बाख्राको जस्तो देखिन्छ,’ काफ्ले भन्छन्, ‘राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।’