नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
रामकुमार श्रेष्ठ –
नवलपुर, १२ चैत्र । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ सर्दीको भेडिगाउँ नजिकैको जंगलमा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले विस्फोटक पदार्थ भेटिएको सूचना आएको तर प्रहरी घटना स्थलमा पुग्नै बाँकी रहेको बताए । उनले भने – जंगलमा विस्फोटक पदार्थ भेटिएको खबर आएको छ । घटना स्थल जंगलमा भएकोले प्रहरी पुग्न समय लागेको छ ।
पाठकका अनुसार स्थानीयले जंगलमा विस्फोट पदार्थ भेटेर प्रहरीलाई खबर गरेको हो । स्थानीयले देखेपछि घर आएर अबेर साँझ मात्र प्रहरीलाई खबर गरेको थियो ।
बाख्रा चराउन गएको गोठालाले जंगलमा पहिरो गएको ठाउँमा बम फेला पारेको स्थानीय रुकेश तमारुले बताए । उनका अनुसार ठूला ठूला आकारका ९ वटा बम रहेका छन् । उनले भने – ठूलाठूला विस्फोटक पदार्थ ९ थान भेटिएको छ । माओवादी जनयुद्धका बेला सेना वा माओवादी लडाकुले छाडेको बम हुनु पर्दछ ।