नवलपुरको बुलिङटार–१ जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा


नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाको वडा नम्बर १ लाई छुवाछुतमुक्त वडा घोषणा गरिएको छ । दलित जागरण अभियानको पहलमा वडालाई छुवाछुतमुक्त घोषणा गरिएको हो ।




वडाअध्यक्ष दिलबहादुर सूर्यवंशी र दलित जागरण अभियानका जिल्ला अध्यक्ष भिमबहादुर परियारले श्वेतपत्रमा हस्ताक्षर गरेर अभियान शुभारम्भ भएको घोषणा गरिएको हो ।




बैशाख ३० गतेदेखि लागू हुने गरी वडालाई जातीय भेदभाव तथा छुवाछुतमुक्त घोषणा गर्दै वडामा बस्ने जोसुकैले जातजाति, जन्म, आस्थाका आधारमा कसैमाथि भेदभाव तथा छुवाछुतको व्यवहार नगर्ने÷नगराउने घोषणा गरिएको छ ।

अव वडाभित्र पर्ने सार्वजनिक स्थानहरु धारा, कुवा, पधेरो, मठ, मन्दिर, अन्य धार्मिक स्थल, सरकारी तथा गैर सरकारी संस्थाका कार्यालय, यातायातका साधन कतै पनि कुनै किसिमको भेदभाव नगर्ने घोषणा गरिएको छ । यदि त्यसो गरिएमा कानूनी कारवाही गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

दलित जागरण अभियानका राष्ट्रिय अध्यक्ष दधिराम परियारले यो एउटा ऐतिहासिक काम भएको भन्दै अव छिट्टै जिल्लाका सबै ५० वटै वडामा यो अभियान सञ्चालन गरी जिल्लालाई नै छुवाछुतमुक्त गरिने बताए ।

नेपालको संविधान, कानून र मुलुकी सँहिता २०७४ अनुसार जातका आधारमा विभेद तथा छुवाछुत गर्ने वा गराउने व्यक्तिलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै हुने व्यवस्था छ । संविधानमा जातीय विभेद गर्न नपाउने भएपछि व्यवहारमा कार्यान्वयन नभएको भन्दै यो अभियान गर्नु परेको अध्यक्ष परियारले बताए ।

कार्यक्रमा वडाअध्यक्ष सूर्यवंशीले जातीय छुवाछुत मुक्त घोषणाले परिवर्तनको आभार गराएको र अव वडामा कसैले पनि जातका आधारमा छुवाछुत गर्न नपाउने बताए । विगतमा जस्तो छुवाछुतको व्यवहार वडामा नरहेपनि पाका पुष्ता रहेको परिवारमा अझै पनि अन्तरजातीय बिवाहमा आनाकानी हुने गरेको भन्दै अव त्यो पनि शून्यमा झर्ने विश्वास अध्यक्ष सूर्यवंशीको छ ।

उनका अनुसार बुलिङटारको १ नम्बर वडामा झण्डै ७०, ८० घरधुरी दलितको बसोवास छ ।




सम्बन्धित
Loading...