विमा रकम हत्याउन प्लाइ उद्योगमा योजनाबद्ध आगलागी आशंका





काठमाडौं । २५ करोडको राजस्व हिनामिना हुँदा पनि मिलेमतो र सेटिङमा ३२ लाख मात्र तिरेर राजस्व छल्न सफल भएको भगवती लेमिनेट्समा गत सोमबार भएको आगलागीलाई पनि शंकास्पद तवरले हेरिएको छ ।

झापा मेचिनगरस्थित ज्यामिरगढीमा रहेको प्लाई उद्योग भगवती लेमिनेट्सले बिमा रकम हत्याउनका लागि योजनाबद्ध तवरमा आगो लगाएको शंका गरिएको छ ।


तयारी सामानहरू सुरक्षित ठाउँमा राखेर आगलागी गराइएको र आठवटा दमकललाई पनि आगो नियन्त्रणमा लिन हम्मेहम्मे पारेर अन्य कच्चा पदार्थ र संरचना ध्वस्त पारेको आरोप लागेको छ ।

कच्चा पदार्थका रूपमा रहेका केही काठसहित संरचना जलेको र भगवती लेमिनेट्सको प्लाई उद्योगका मुख्य संरचनाहरू जलेर काम नलाग्ने भएको प्रहरीले समेत उल्लेख गरेको छ ।
सो भगवती लेमिनेट्समा हुने गरेको कच्चा र पक्का बिलको कारोबार र राजस्व विभागको छानबिनलाई समेत छलेर करोडौं हिनामिना गरेको अवस्थामा थप अनुसन्धान नहोस् भनेर छल्ने र बिमाबापत समेत करोडौं आउने भएपछि खाली गोदाममा केही काठ राखेर आगलागी गराइएको स्रोतको दाबी छ ।

गत वर्ष मात्र राजस्व हिनामिनामा भगवती लेमिनेट्स उद्योगका तत्कालीन सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई एकपछि अर्को गर्दै राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो ।

लामो समयसम्म अनुसन्धान गर्नुपर्ने फाइलहरू अनुसन्धान नभई रोकिएपछि तत्कालीन समयमा राजस्व अनुसन्धान विभागको नियतमाथि समेत प्रश्न उठेको थियो ।

अहिले भने लेमिनेट्सका मुख्य सञ्चालक रजनीश कर्नानीलगायतको योजनामै उद्योगमा आगलागी भएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार लेमिनेट्सले सर्क सर्किट भएर आगो लागेको र यसबाट ८ देखि १० करोडको क्षति भएको प्रतिवेदन बनाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा इन्स्योरेन्स दाबी गर्ने योजना बनाएको बताइएको छ ।

कम्पनीले ठूलो क्षति भएको दाबी गरिए पनि कम्पनीकै योजनाअनुसार आगलागी भएको बताइएको छ । शिखर इन्स्योरेन्सका निरीक्षकलगायत अन्य जिम्मेवार व्यक्तिलाई समेत प्रभावमा पारेर क्षतिपूर्ति लिन भगवती लेमिनेट्सका सञ्चालकहरू लागिपरेका छन् । आगलागी हुनुअगाडि सम्पूर्ण मूल्यवान् सामानहरू गोदामबाट निकालिएको र कबाडी सामानहरू मात्र भएको अवस्थामा उद्योगमा आगलागी भएको बताइएको छ ।

कम्पनीले नै बनाएर ल्याएको क्षतिसम्बन्धी प्रतिवेदनलाई इलाका प्रहरी कार्यालयले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल गरेर पास गर्ने प्रपञ्चसमेत रचिसकेको बताइएको छ । सो प्रतिवेदनमा कम्पनीले सर्क सर्किटका कारण आगलागी भएको बताउने र क्षतिपूर्तिका लागि शिखर इन्स्योरेन्समा दाबी पेस गर्ने योजना बनाएको छ ।

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्सले वार्षिक अर्बभन्दा बढी कारोबार गर्ने गरेको थियो भने सरकारी संयन्त्रको आँखा छल्न कच्चा बिल (साधारण बिल) र पक्का बिल (भ्याट बिल) गर्ने कार्यालयसमेत छुट्टाछुट्टै राखी कारोबार गर्दै आएको थियो ।

झापामा रहेको लेमिनेट्सका दुईवटा कार्यालयमध्ये मेचिनगरमा पक्का बिल (भ्याट बिल)को कारोबार गरी काम गर्ने र धुलाबारीमा रहेको अर्को कार्यालयबाट भने कच्चा बिल (साधारण बिल)बाट कारोबार हुने गरेको स्रोतको दाबी छ ।

नेपाली लगानीकर्ताको भनेर उद्योग खोले पनि मूल लगानीकर्ता भने सीमापारिका रहेको र दोहोरो बिलको फन्डा खुल्नासाथ फसाउनकै लागि नेपालीहरूलाई हैसियतबिनाको मालिक बनाएर राखिएको थियो ।

नेप्लाई ब्रान्डलाई आक्रामक विस्तार गरेको भगवती लेमिनेट्सले उत्पादन गरेको ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडका प्लाइउडमध्ये ‘ए’ ग्रेडका प्लाइउड बिक्री गर्दासमेत भ्याट छल्नकै लागि ‘सी’ ग्रेडका बिक्री गरेको भनी बिल जारी गर्ने गरेको अनुसन्धानमा पाइएको थियो । आजको राजधानी दैनिकमा खबर प्रकाशित छ ।




सम्बन्धित
Loading...