गैडाको प्रजनन क्षमता बढाउन गैडाको आन्तरिक स्थानान्तरण –फोटो फिचर र भिडियो सहित


रामकुमार श्रेष्ठ –
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा लोपउन्मुख एक सिंगे गैडाको प्रजनन क्षमता वृद्धि गर्नका लागि आन्तरिक रुपमा गैडा स्थानान्तरण गर्न शुरु गरिएको छ । शुक्रबार, शनिबार र आइतबार गरी अहिलेसम्म ३ वटा गैडा स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र १० वटा गैडा आन्तरिक स्थानान्तरण गरिने जनाइएको छ भने पहिलो चरणमा ६ वटा गैडा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट पूर्वी सेन्टरतर्फ लगिने छ ।




नेपालमा यस अघि एउटा निकुञ्जबाट अर्को निकुञ्जमा गैडा स्थानान्तरण गर्ने प्रचलन रहेपनि अहिले नेपालमै पहिलो पटक एउटै निकुञ्ज भित्र एक ठाउँबाट अर्को ठाउँमा गैडा स्थानान्तरण गरिएको हो । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अर्थात नवलपरासी क्षेत्रबाट पूर्व सेक्टर अर्थात चितवन तर्फ गैडा स्थानान्तरण भईराखेको हो ।

गैडा स्थानान्तरण गर्दा गाउँमा पसेर मानव बस्तीमा दुःख दिएका गैडाहरुलाई पहिलो प्रथामिकतामा राखेर स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वी र पश्चिम सेक्टरमा समान रुपमा वृद्धि गर्नका लागि गैडा स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।


त्यसो त चितवन राष्ट्रिय निकुञ्जका गैडाको संख्यामा वृद्धि नभएको भने होइन । नेपालमा २० औं सदाब्दीको अन्त्य तिर करिब २ सयको हाराहारीमा रहेको लोपउन्मुख १ सिंगे गैडाको संख्या पछिल्लो तथ्यांक अनुसार सन् २०२१ सम्ममा नेपालमा त्यो बढेर ७ सय ५२ वटा पुगेको छ ।

सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैडा रहेको छ भने ति मध्ये पश्चिम सेक्टरमा मात्रै ४ सय ५० बढी गैडा रहेका छन् । यसरी गैडा स्थानान्तरण गर्दा पश्चिम सेक्टरमा गैडाको चरिचरण क्षेत्र बढ्ने र पूर्वी क्षेत्रमा पनि गैडाको संख्या बढ्न गई दुवैतर्फ गैडाको प्रजनन क्षमता बढ्ने सूचना अधिकारी तिवारीको दावी छ । एउटै थलोमा धेरै गैडा थुप्रिँदा बासस्थान, चरिचनको समस्या र प्रजनन क्षमतामा समेत कमी आउने तिवारीले बताए ।

निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनशक्ति गैंडा स्थानान्तरणमा परिचालन भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गैडाको संख्या ह्वात्तै बढेपनि निकुञ्ज भित्र घाँसे मैदान अभावका कारण गैडाहरु आहाराको खोजीमा गाउँतिर छिर्दा मानवीय र खेतीबालीको क्षति हुने गरेको छ । तथापि चितवन राष्ट्रिय निकुञ्ज प्रशासन भने यो मान्न तयार छैन । चितवन राष्ट्रिय निकुञ्ज चित्र अहिले १० हजार हेक्टर भन्दा बढी क्षेत्र घाँसे मैदान रहेको निकुञ्जको दावी छ ।

शुक्रबार कावासोतीको नवदुर्गा सामुदायिक वनमा रहेको करिब २८ बर्षको भाले गैडा, शनिबार दिव्यपुरी पोष्ट नजिक रहेको अन्दाजी १७ बर्षीय भाले गैडा र आइतबार अर्को भाले गैडा पूर्वी सेक्टरमा सारिएको छ ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैंडा रहेका छन् । त्यसमध्ये बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैंडा छन् ।

एकै ठाउँमा धेरै गैंडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने, प्रजनन क्षमतामा कमी आउने लगायतका कारण देखाएर निकुञ्जले गैडा आन्तरिक स्थानान्तरण गरिरहेको भए पनि नवलपरासी क्षेत्रका पर्यटन व्यसायीहरुले भने पश्चिम सेक्टर अर्थात नवलपरासी तर्फ गैडाको संख्याको चाप बढेपछि नवलपरासी क्षेत्रमा विस्तारै पर्यटक बढ्न थालेको कारण चितवनतर्फका पर्यटन तथा होटल व्यवसायीहरुसँग मिलेर नवलपरासीतर्फको गैडा चितवन तर्फ स्थानान्तरण गरिएको आरोप लगाएका छन् ।




सम्बन्धित
Loading...