दुई समूहबिच विवाद, रेष्टुरेण्ट सञ्चालकले हाने चक्कु





काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुईवटा समूहको बिचमा विवाद हुँदा रेष्टुरेण्ट सञ्चालकले चक्कु प्रहार गरेको खुलेको छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको हो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेष्टुरेण्टमा विवाद भएपछि पहरीलाई खबर गर्नुको साटो रेष्टुरेण्ट सञ्चालकले चक्कु प्रहार गरेको आरोप छ ।

प्रहरीले डी–पोपिनाका सञ्चालक विजय राईलाई पक्राउ गरेको छ । खोटाङ घर भएका विजयले रेष्टुरेण्टको भान्साबाट चक्कु निकालेर प्रहार गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । घटनाबारे अनुसन्धान गर्न प्रहरीले विजय राई र सुशील राईसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरिने जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले रातोपाटीलाई बताए ।


चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको छ । रोबसको कोखमा र पुजनको तिघ्रामा चक्कुको डोब छ ।

आइतबार राति पुजको समूह रेष्टुरेण्टमा बसेर मदिरा सेवन गर्दै थिए । त्यसबेला रोबस निकट किशोरहरू रेष्टुरेण्टमा पुगे । रेष्टुरेण्टमा पछि पुगेका किशोरहरूलाई पुजनले भने,‘फुच्चेहरु तिमिहरू यहाँबाट गैहाल ।’ त्यसबेला पुन समूह र अन्य किशोरहरूबिच केहिबेर नोकझोँक चल्यो । रेष्टुरेण्ट सञ्चालक विजयले उनीहरुलाई बाहिर पठाए । केहीबेरमा रोबस राईलाई साथमा लिएर उनीहरू फेरि रेष्टुरेण्टमा फर्किए । रोबसले सोधे,‘मेरा भाइहरूलाई हप्काउने को हो ?’

केही समयअघि पठाएका किशोरहरू फेरि अर्को मानिस लिएर आएको रिसमा रेष्टुरेण्ट सञ्चालकले चक्कु झिके । केहीले रोक्न खोज्दै थिए तर, उनी रोकिएनन् । उनले रोबसको कोखामा चक्कु प्रहार गरे । उपचारको क्रममा पाटन हस्पिटलमा रोबसको मृत्यु भयो । पुनजलाई पनि विजयले नै चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनको तिघ्रामा चोट लागेको छ । दुई युवाको हत्याको कारण ‘पुरानो रिसिबी’ भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।




सम्बन्धित
Loading...