राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द





प्रमुख प्रशासकीयको रुपमा सेवा सुरु गरेसँगै चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले कार्यालय समयमा सामाजिक संजाल चलाउन निषेध गर्ने भएका छन् । उनले फेसबुक र म्यासेन्जर १० बजेदेखि ५ बजेसम्म कार्यलयका कर्मचारीले चलाउन नपाउने गरी बन्द गर्ने बताएका हुन । उनले भने – मेयर र उपमेयरसँग कुरा गरेर आफुले जनताको सेवालाई सहज बनाउन कर्मचारीहरुका लागि कार्यालय समयमा फेसबुक र म्यासेन्जर प्रयोग बन्द गराउन लागेको बताए।

त्यस्तै नेपाल सरकारले तोकेको ड्रेसकोड र परिचय पत्र लगाएर १० बजे कार्यालय आइनपुग्ने कर्मचारीलाई पनि आफुले कारबाही गर्ने बताएका छन् । भण्डारीले कार्यालय समयमा काम छैन भनेर आफ्नो कार्यकक्ष छाड्नसमेत नपाइने बताए । ‘म मासिक रुपमा कर्मचारीसँग बैठक गर्छु र तत्काल कार्यालयको समस्या हल गरेर अघि बढ्ने छु । कुनै पनि कर्मचारीले बहाना बनाएर अल्छी गर्न पाइने छैन्’, भण्डारीले नयाँ पत्रिकासँग भने ।


सधैँ विवादमा तानिँदै आएको राप्ती नगरपालिकामा प्रशासकीय अधिकृत टिक्न सकेका थिएनन् । आफ्नो कार्यकालको समयमा कर्मचारीहरु सरुवा भएर राप्ती नगरपालिकामा आउजाउ हुने बनाउनेसमेत उनले बताए ।

भण्डारीले भने ‘यो कर्मचारी कहाँको, राप्तीको नगरपालिका भन्ने बनाउछु । जहाँ चुनौती त्यहाँ अवसर भन्छन् – ऐन नियमले गरेका कुराहरु हामीले गर्ने हो । अनुशासित र सेवासँग जिम्मेवार कर्मचारी मात्र यहाँ हुने छन् । पहिलेका अधिकृत लोभिपापि भएर समस्या आएको हो । जो मान्छेले नेपाल सरकारले दिएको तलबले पुग्दैन भन्छ त्यसले अब यहाँ जागिर खाने हैन ।’

७ वर्षदेखि यही नगरपालिकाको कृषि शाखामा रहेर काम गर्दै आएका भण्डारीले बुधबारदेखि प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समालेका हुन् । उनले भने ‘स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा स्थानीय तहकै राख्नुपर्छ भन्ने कुरा राख्दै आएको थिए । त्यो कुरा राप्तीमा सुरु भएको छ । मैले केही उदारणीय काम गरेर देखाउनुपर्छ । ’




सम्बन्धित
Loading...