शंकर कँडेल आत्महत्या प्रकरण : रुङटा र रावललाई सफाई





भरतपुर । व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दाका आरोपीतहरुले सफाई पाएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश डा. दिवाकर भट्टको इजलासले बिहीबार उक्त फैसला गरेको हो ।

अनमोल फिड्स किनवेचको कारोबारमा आफूलाई अप्ठेरो पारेको भन्दै गत वैशाख १९ गते आफ्नै कार्यकक्ष (अनमोल फिड्स)मा कँडेलले झुण्डिएर आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा प्रदिप कुमार रुङटा र जीवन रावलको कारण आफू मर्न बाध्य भएको उल्लेख गरेका थिए ।


आरोपीत दुवै जना विरुद्ध ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदावी गर्दै चितवन अदालतमा मुद्दा दर्ता भएको थियो । घटनाको ३ महिना पछि साउन १८ गते रुङटा आफै निवेदनका साथ मुद्दामा हाजिर हुन अदालत आएका थिए ।

कँडेलको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा मुख्य आरोपीत भनिएका प्रदिप कुमार रुङटा पक्ष जिल्ला अदालत चितवनको पूर्पक्षका लागि थुनामा पठाउने आदेश चित्त नवुझी उच्च अदालत गएको थियो । साउन १८ गते न्यायधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रुङटालाई पूर्पक्षका लागि थुनामा राख्ने भनिएको थियो ।

न्यायधीश अर्यालको आदेश चित्त नवुझेको भनी उच्च अदालत हेटौडाँमा साउन २१ गते नै रुङटा पक्ष गएको थियो । रावल धरौटीमा छुटेपछि आफू पनि छुट्ने आशामा रुङटा अदालत हाजिर भएका थिए । तर अदालतले थुनामा पठाउने आदेश गरेपछि अदालतबाट आदेश भएको २ दिनमै रुङटा पक्ष उच्च अदालत गएको हो । अनमोल फिड्स रुङटाले अर्का व्यवसायी शंकर कँडेलसँग किनेका थिए ।




सम्बन्धित
Loading...