काठमाडौंमा अभिनेत्री ज्याकलिन, हिराका गहना सजिएर उत्रिइन् -याम्पमा





काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यतिबेला काठमाडौंमा छिन् । उनी शुक्रबार काठमाडौं आएकी हुन् । बलिउडमा आफ्नो उच्च पहिचान बनाएकी यी अभिनेत्री श्रीलंकाकी हुन् । सन् २००९ मा फिल्म ‘अलादिन’बाट बलिउडमा डेब्यू गरेकी यी अभिनेत्रीले किक, मर्डर २, हाउसफुल २, जुडवा २, रेस ३ जस्ता बलिउडका हिट फिल्ममा काम गरिसकेकी छन् ।

उनी पहिलोपटक नेपाल आएकी हुन् । आफूलाई नेपाल निकै रमाइलो लागेको उनले बताएकी छन् । नेपाल आउने चाहना धेरै वर्षदेखि भए पनि त्यो चाहना बल्ल यसपटक पूरा भएको उनले बताएकी छन् । यसअघि अभिनेता सलमान खानको ‘द ब्याङ टुर’मा आउने तयारीमा आफू रहेको भए पनि सो कार्यक्रम रद्द भएका कारण त्यतिबेला नेपाल आउन नपाएको उनले बताएकी छन् । यतिबेला नेपाल आउने अवसर जुरेकोमा उनले खुसी व्यक्त गरेकी छन् ।


शनिबार बेलुका काठमाडौंको याक एन्ड यती होटलमा आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको -याम्प सोमा यी अभिनेत्री प्रस्तुत भएकी छन् । आरबी डायमण्डले तयार गरेका विभिन्न हिराका गहनामा सजिएर अभिनेत्री ज्याकलिन फेसन सोमा ‘सो–स्टपर’का रूपमा -याम्पमा प्रस्तुत भएकी हुन् ।

आरबी डायमन्डको -याम्प सो कार्यक्रममा अभिनेता धिरेन शाक्य, अभिनेत्री प्रियंका कार्कीलगायत पूर्वमिस नेपालहरू तथा विभिन्न मोडल सहभागी थिए । अबेर साँझसम्म चलेको सो कार्यक्रममा आरबी डायमन्डले यो वर्षका लागि तयार गरेका आफ्ना विभिन्न डिजाइनका गहनामा सजाएर अभिनेत्री ज्याकलिनदेखि विभिन्न मोडललाई -याम्पमा उतारेको थियो ।




सम्बन्धित
Loading...