दुर्घटनामा ४ जनाको निधन





देशका विभिन्न भागमा आज भएको सवारी दुर्घटनामा परी ४ जनाको निधन भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।


मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको नम्बरको भारतीय नम्बर प्लेटको ट्याङ्करसँग ठोक्किएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक ३३ वर्षीय धनबहादुर जोगीको मृत्यु भएको प्रहरीले बताएको छ । पैदल यात्री उर्लावारीका ४५ वर्षीय रामकिशोर चौधरी र मोटरसाइकलमा सवार दर्पण जोगी घाइते छन् ।

सोमबार नै चतराबाट पकली तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुनसरीको बराहक्षेत्र ५ जमटोकीस्थित पकली–चतरा सडकखण्डमा विद्युतको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते छन् ।

स्याङ्जाको वालिङमा गाडीको ढोकाबाट खसेर साेमवार एक जना विद्यार्थीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बसबाट खसेर सर्लाहीको मलङ्गवा नगरपालिका घर भएका २० वर्षीय अमित शाहको मृत्यु भएको हो ।

वालिङ नगरपालिका–१३ मा रहेको भूपू सैनिक माविमा सीटीईभीटी इलेक्ट्रिक इन्जिनियरिङ विषयको परीक्षा दिएर फर्कँदै गर्दा शाह लु १ ख ६८९७ नम्बरको गाडीबाट खसेका प्रहरीको भनाइ छ ।




सम्बन्धित
Loading...