मुख्यमन्त्री पोख्रेल र चिनियाँ राजदुतबीच भेट

0

बुटवल, २५ कात्तिक ।





मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि चिनियाँ राजदुत यु होङले आज भेट गरेका छन् ।
भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको छ ।
मुख्यमन्त्रीले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर संभावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने बताए ।


उनले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले महामहिम राजदुत मार्फत चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले चिनियाँ रेल काठमाडांै हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे ।
राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताए । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरेको मुख्यमन्त्री पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाएका छन् ।
उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराए । साथै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सफलता पाउन शुभकामना समेत दिए ।
राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा गरेका छन् ।





सम्बन्धित
Loading...