अहिले मन्त्री बनाउँन आएको दबाबले आतंकित छु : प्रचण्ड





काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् ।

शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार विस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएका हुन् ।




पार्टीका धैरै नेताहरु आकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठ्यारो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए ।

पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अब अन्त्य गर्नुपर्ने उनले बताए। ‘अहिले मन्त्री बन्ने आकांक्षीहरूको हुल आइरहेको छ, आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउन कसलाई नबनाउने ?’

त्यस्तै प्रचण्डले गठबन्धनका विरोधीहरुले यो गठबन्धन फुटाउन तिर लागेको टिप्पणी गरे । एमसीसीमा भिडाएर गठबन्धनबीच झगडा गराउने प्रयास भइरहेको उनको भनाइ छ । संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौति बाँकी रहेको बताए ।

ओली प्रवृत्ति विरुद्ध जनताको जित भएको उनको टिप्पणी थियो । ‘जे गरे पनि उनैले जित्छन् भन्ने थियो । तर केपी ओली नराम्रोसँग इतिहासमा पछारिएका छन् । अब यो बर्बराहाट पनि धेरै दिन टिक्छ जस्तो लागेको छैन । किन भने उनकै पार्टीभित्र उनलाई चिन्ने क्रम शुरू भइसकेको छ ।’

साथै उनले माधव नेपालले केपी ओलीलाई महाराजधिराज भनेकोमा उनले धन्यवाद दिए । उनले भने, ‘माधव जीले ओलीलाई महाराजधिराज खुशी हुनु भएछ हामीलाई आममाफी भयो भन्नु भएछ । बडो सुन्दर व्यंग्य ! मैले उहाँलाई धन्यवाद पनि दिएँ ।’

उनले संविधानलाई सही ट्रयाकमा ल्याएर बनेको सरकारले जनता र देशको पक्षमा काम गर्नुपर्ने जिकिर गरे । सरकारले शुरुमा नै सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने निर्णय स्वागत योग्य रहेको उनले बताए ।




सम्बन्धित
Loading...