फ्लोअपः बरामद मोबाइल सम्बन्धीको मुद्दा मिलाउन दबाब


हरि शर्मा –




महेशपुर भन्सार कार्यालयमा राखिएको मोबाइलसहित पक्राउ परेको गाडी ।

 

परासी, २६ साउन ।  दुम्किवासमा बरामद भएको १ करोड बराबरको मोबाइल सम्बन्धीको मुद्दा मिलाउन दबाब आउन थालेको छ ।




गत बिहीबार भन्सार छलेर पश्चिम नवलपरासी हुँदै चितवनतर्फ लैजादै गरेको अवस्थामा पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय दुम्किवासले ५ सय ९५ थान मोबाइल बरामद गरेको थियो । प्रहरीले मोबाइल बोक्न प्रयोग गरेको गाडीसहित २ जनालाईसमेत पक्राउ गरेको छ । बरामद भएका मोबाइल र गाडीको मूल्यांकन कम देखाएर पक्राउ परेका व्यक्तिलाई तत्काल धरौटीमा छाडन् ठूला व्यापारी, जिल्लाका राजनीतिक दलका केही नेतादेखि केन्द्रका नेताहरुले समेत दबाब दिएको बताइएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ बस्ने अर्जुन ढकाल र सोही महानगरपालिका–२१ बस्ने इन्द्रलाल श्रेष्ठ छन् । श्रेष्ठ चितवनको शारदानगर जेसीजका वर्तमान अध्यक्ष समेत हुन् । दुवै जना परासीको प्रहरी हिरासतमा छन् ।

महेशपुर भन्सार कार्यालयले सरकारी वकिल कार्यालयमा रायका लागि मुद्दा पेश गर्ने तयारी गरिरहेको भन्सार अधिकृत रामप्रसाद अर्यालले बताए । प्रहरीले ९९ लाखको मोबाइल बरामद भएको प्रतिवेदन भन्सार कार्यालयमा बुझाएको छ ।

मोबाइलसँगै पक्राउ परेको डबल क्याबको जीपको मूल्यांकन ७० लाख देखाइएको छ । उक्त जीप १ करोड बढीको रहेको बताइएको छ । ‘फोन त कति आए, कति अझ पनि आउँदै छन् । फोन आउँदैमा छाड्ने कुरा भएन ।’ भन्सार अधिकृत अर्यालले भने । मोबाइल बरामद भएका दिनदेखि नै धरौटीमा छोड्न र कम मूल्यांकन देखाउन फोन आउन थालेको उनले बताए । कस्ले फोन ग¥यो भन्ने बारे अर्यालले बताउन चाहेनन् ।

सरकारी वकिल कार्यालयमा प्रहरीकै प्रतिवेदनमा उल्लेख भएको मूल्य राखेर मुद्दाका लागि राय लिने र पछि कार्यालयले मूल्य तोक्ने भन्सार कार्यालयले जनाएको छ । भन्सार चोरीको ठूलो परिणामका मोबाइल जिल्लाहुँदै गएपनि अर्को जिल्लामा बरामद भएपछि पश्चिम नवलपरासी प्रहरीले आलोचना खेप्नु परेको छ ।




सम्बन्धित
Loading...